शिक्षाको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्छ – अध्यक्ष बिजुक्छें

भक्तपुर, बैशाख १०
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले शिक्षाको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्ने बताउनुभएको छ । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा रहेको भक्तपुरको मेधा माध्यमिक विद्यालयको नवनिर्मित भवन आइतवार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले समर्पित शिक्षक र नयाँ प्रविधिको प्रयोगले मात्र शिक्षा र विद्यालयमा सुधार गर्न सकिने बताउनुभएको हो ।
उहाँले सामुदायिक विद्यालय पनि उत्कृष्ट बन्न सक्छन भनी मेधा स्कूलका शिक्षकहरूको समर्पण अनुकरणीय रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्ने र अन्य विद्यालयले पनि मेधा स्कुलबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।
“शिक्षकको समर्पणले मात्र विद्यालय उत्कृष्ट हुन्छ, शिक्षकले नयाँ प्रविधिको प्रयोग गर्दै शिक्षालाई उत्कृष्ट बनाउनुपर्छ,” उहाँले भन्नुभयो । सो अवसरमा अध्यक्ष बिजुक्छेंले विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने विभिन्न दातृ निकायका प्रतिनिधिहरू तथा शिक्षकहरुलाई सम्मान समेत गर्नुभएको थियो ।
विद्यालयले नवनिर्मित भवनको नाम तत्कालिन प्रधानाध्यापक स्व. गंगाधर हाडाको उच्च कदर गरी उनको स्मृतिमा उक्त भवनको नाम ‘गंगाधर हाडा स्मृति भवन’ राखिएको छ । सोही अवसरमा विद्यालयले स्वर्गीय हाडालाई मरोणोपरान्त सम्मान समेत प्रदान गरिएको थियो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशक डिल्लीराम लुइँटेलले भूकम्पपछि धेरै विद्यालयहरुको भवन अत्याधुनिक र बालमैत्री बनेको उल्लेख गर्दै मेधा स्कुलको भवन निर्माणका लागि खटिएका पूर्व प्रधानाध्यापक गंगाधर हाडाको मिहिनेतले विद्यालयलाई राष्ट्रिय छवि बनाउन सफल भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका प्रमुख रमेश मैनालीले भक्तपुरको शैक्षिक नतिजा अन्य जिल्लाहरुको तुलनामा उत्कृष्ट हुनुमा शिक्षकहरुको योगदान र सफल राजनीतिक नेतृत्व रहेको उल्लेख गर्नुभयो ।
सोही अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्य अनुरुप शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्मको शिक्षा भक्तपुर नगरपालिकाले दिइरहेको बताउनुभयो ।
कार्यक्रममा आरपि फाउन्डेसनका अध्यक्ष रविन्द्र पुरी, रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष विनिता हाडा, सलर हिल्फे फ्युर नेपालका प्रमुख योर्गबार, रोटरी डिष्ट्रिक्टका पूर्व संयोजक तीर्थमान शाक्यलगायतले मेधा स्कुलका पूर्व प्रअ स्वर्गीय गंगाधर हाडाले विद्यालयको गुणस्तर सुधारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विद्यालय बनाउनका लागि आफूहरुले सहयोग गर्न पाउँदा खुसी लागेको र शिक्षाको क्षेत्रमा काम गर्ने तत्परता दर्शाएका थिए ।
विद्यालयका प्रधानाध्यापक श्याम हाडा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोराले विद्यालयको ऐतिहासि पृष्ठभूमिका साथै भावी योजनाबारे समेत जानकारी दिनुभएको थियो ।
विद्यालयको नयाँ भवन वि.सं. २०७६ कार्तिक १५ गतेबाट सुरु भई २०७९ चैत २० गत सम्पन्न भएको थियो । भवन निर्माणका लागि कूल २ करोड २३ लाख ७८ हजार ६३४ रुपैयाँ खर्च भएको थियो । भवनका लागि जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा), सुलर हिल्फे फ्युर नेपाल(जर्मनी) र आरपी फाउन्डेशन, रोटरी डिष्ट्रिक्ट ३२९२, रोटरी क्लब अफ भक्तपुर, भक्तपुर नगरपालिकालगायतले सहयोग गरेको थियो । भवन निर्माणसँगै कक्षा प्लेगु्रपदेखि कक्षा ३ सम्मका करिब तीनसय विद्यार्थी लाभान्वित हुने भएका छन् ।