रेडक्रसको विवाद समाधान गरी अघि बढ्नुपर्छ – सभामुख घिमिरे

भक्तपुर बैशाख ९
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाईटीभित्रको विवाद समाधान गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी झौखेल उपशाखाको नवनिर्मित भवन एवम् १७ औं साधारणसभा शनिवार उद्घाटन गर्दै सभामुख घिमिरेले रेडक्रस भित्रको वास्तविकता केहो टुंगो लगाएर समाधान गरी अघि बढ्नुपर्ने बताउनुभएको हो ।
रेडक्रसमा पारदर्शी ढंगले कामहरु नभएको, विभिन्न खालको स्वार्थहरु टक्राईरहेको लगायत अनेक कारणले विवादमा परेको चर्चा गर्दै सभामुख घिमिरेले छिटै यस्ता समस्याहरुको समाधान गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले रेडक्रसको विवादबारे अध्ययन र अनुसन्धान गर्न विदेशी टोलीहरु आइरहेको र उनीहरुले काम गरिरहेको अवस्थामा रेडक्रसकर्मी सबै विवादलाई हल गर्न एकजुट हुनुपर्ने सुझाव दिनुभयो ।


विपदको बेला खोज तथा उद्धारमा काम गर्ने र विपदको क्षति न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको रेडक्रसलाई सामाजिक क्षेत्रमा थप काम गर्न सक्ने थलोको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो ।
भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले रेडक्रस जस्तो सामाजिक संस्थामा भ्रष्टाचार, अनियमतिता र करोडौं चलखेलको समाचार आउन उचित नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कमिटीका उपमन्त्री एवम् भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसलाई प्रजातान्त्रिक ढंगले चल्न दिनुपर्ने बताउनुभयो । उहाँले रेडक्रसको नेतृत्व चयनका लागि प्रजातान्त्रिक प्रक्रिया अनुरुप निर्वाचन गर्न दिनुपर्नेमा जोड दिँदैं निर्वाचनमा गए आफु पराजित भइन्छ भन्ने केही व्यक्तिको मानसिकताले आज रेडक्रस विवादको थलो बनेको आरोप लगाउनुभयो ।


उहाँले रेडक्रस भित्र कोही कसैले अनियमितता गरे कानुन बमोजिम छानविन गरेर कारवाही गर्न सुझाव दिँदैं कसैले व्यक्तिगतरुपमा गरेको अनियमिततालाई संस्थाको साख र गरिमामा क्षती पुग्ने गरी व्याख्या गर्नु गलत भएको बताउनुभयो ।
सो अवसरमा रेडक्रस झौखेल उपशाखाका कोषाध्यक्ष एवम् भवन निर्माण समितिका संयोजक शिवराम सुलुले ५५ लाख १७ हजार १०२ रुपैंयाको लागतमा भवन तयार भएको जानकारी दिनुभयो ।
उहाँले भवन निर्माणका लागि चाँगुनारायण नगरपालिका वडा नं. ३ बाट दुई आर्थिक वर्षमा २३ लाख विनियोजन गरिएकोमा करकट्टी गरेर २१ लाख ९६ हजार २३८, रेडक्रस भक्तपुर शाखाबाट २ लाख, विभिन्न संस्था र व्यक्तिगत सहयोग दाताबाट १५ लाख ६१ हजार ८७६ रुपैंया गरी कुल ३९ लाख ५८ हजार ११४ रुपैंया आम्दानी भएको बताउनुभयो ।
उहाँका अनुसार भवन निर्माणका लागि नपुग रकम १५ लाख ५८ हजार ९८८ रुपैंयाँ विभिन्न व्यक्ति एवम् भवनका लागि आवश्यक सामाग्री आपुर्ती गर्ने पसलहरुमा उधारो तिर्नुपर्ने बाँकी रहेको छ ।


उपशाखाका सभापति राजकुमार थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका पुर्व प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिका वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर धिमाललगायतले झौखेल शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी सञ्चालनमा ल्याउन आवश्यक पहलका लागि सांसद सुवाल र सभामुख घिमिरेसमक्ष अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुहुने विभिन्न संघसंस्था एवम् दाताहरुलाई सम्मानसहित कदरपत्र प्रदान गरिएको थियो । उक्त भवन निर्माणका लागि २०७८ चैत्र २६ गते शिलान्यास भएको थियो ।