सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुमा शिक्षक र अभिभावक दुवै जिम्मेवार – प्रदेश सांसद श्रेष्ठ

भक्तपुर, बैशाख ९
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदैं गएको बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापकलाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी भएपनि शैक्षिक स्तरमा खस्कँदैं जानुमा शिक्षक र अभिभावक दुवै जिम्मेवार रहेको बताउनुभएको हो ।
निजी विद्यालयमा पढाए चिटिक्क पारेर बच्चा विद्यालय पठाउने, समयमा गृहकार्य ग¥यो गरेन जाँच गर्ने, शिक्षकले कस्तो पढाउँछन् भनी बुझ्ने तर सामुदायिकमा जाने विद्यार्थीलाई धुलोमैलो जे भए पनि अभिभावकले वास्ता नगर्ने, बच्चाले गृहकार्य ग¥यो गरेन, कस्तो पढाउँछन् शिक्षकले नबुझ्ने गर्दा नै सामुदायिक विद्यालयको गुणस्तर खस्केको उहाँले बताउनुभयो ।
“जिम्मेवार पूर्वक विद्यालय र विद्यार्थीको भविष्य हाम्रो हातमा छ भन्ने भान शिक्षक शिक्षिकामा हुने हो भने विद्यालय सुधार हुन्छ । यसमा समुदाय, अभिभावक र विद्यालय व्यवस्थापन समितिले हसेमा हैंसे गरे पुग्छ,” उहाँले भन्नुभयो ।
उहाँले भक्तपुरमा भएका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न भनसुन गर्नुपर्ने अवस्था रहेको चर्चा गर्दै सबै विद्यालयलाई सोही स्तरमा पुर्याउन सबैले मेहनत गर्नुपर्ने बताउनुभयो ।
उहाँले निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीमा बढी लगानी हुने गरेको बताउनुभयो । “कम सेवा सुविधामा पढाउने निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा सरकारको भौतिक देखि शिक्षक शिक्षिकामा भएको लगानी र विद्यार्थी सङ्ख्या तुलना गर्ने हो भने धेरै पैसा लिने निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा बच्चा पढाउन महँगो पर्ने गरेको छ,” उहाँले भन्नुभयो ।
उहाँले सरकारी विद्यालयमा सरकारले गर्ने लगानी सर्वसाधारण जनताले तिरेको करको पैसा भएकाले बताउँदैं जनताको लगानी भएको सरकारी विद्यालयलाई बेवास्ता गर्दा शिक्षा झन् महँगो भएको धारणा राख्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जनक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर काफ्ले, समितिका पदाधिकारीहरू, विद्यालयका संस्थापक प्र.अ सहदेव साखकर्मी लगायतको उपस्थिती रहेको थियो ।