भक्तपुर अवलोकन गर्ने पर्यटकको संख्या १ लाख १६ हजार नाघ्यो

भक्तपुर, बैशाख ८
चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो नौ महिनामा भक्तपुर नगर अवलोकन गर्ने विदेशी पर्यटकको संख्या एक लाख १६ हजार नाघेको छ । गत साउनदेखी चैत्र मसान्तसम्म एक लाख १६ हजार ८ सय १२ जना विदेशी पर्यटकले भक्तपुर नगरको अवलोकन गरेको हो ।
जसमध्ये ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना सार्क राष्ट्र र चीनका पर्यटकहरू रहेका छन् ।
गत आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखी चैत्र मसान्तसम्मको तुलनामा भक्तपुरमा ९३ हजार ६ सय ४५ जना विदेशी पर्यटक बृद्धि भएको हो । जसमध्ये गैर सार्क मुलुकका ५६ हजार २६० जना र चीनसहित सार्क राष्ट्रका ३७ हजार ३ सय ८५ जना छन ।


पर्यटकको संख्या बृद्धिसँगै भक्तपुर नगरपालिकाको पर्यटन शुल्कको आम्दानी समेत बृद्धि भएको छ । भक्तपुर नगरपालिकाले चालु आ.व.को साउनदेखी चैत्र मसान्तसम्म १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । जसमा गैरसार्क मुलुकका पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार र चीनसहित सार्क राष्ट्रका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार पर्यटन शुल्क उठेको छ । जुन गत आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा ११ करोड १४ लाख ३१ हजार पाँच सय रुपैयाँ बढी हो ।
गत आर्थिक वर्ष २०७८÷०७९ को तथ्यांक हेर्ने हो भने साउनदेखि चैत्रसम्मको अवधिमा जम्मा २३ हजार १ सय ६७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । जसमा गैरसार्कअन्तर्गत ११ हजार ४ सय ४० जना र चीनसहितका सार्क राष्ट्रका ११ हजार ७ सय २७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ । आ.व. २०७८÷०७९ मा जम्मा २ करोड ३० लाख २३ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क उठेको थियो ।


भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क मुलुकका पर्यटकसँग उठाउँदैं आएको पर्यटन शुल्क बृद्धि गरेको थियो । यसअघि नेपाली एक हजार ५ सय लिँदैं आएकोमा गत जनवरी १ देखी डलरको विनिमय दरसँग समायोजन गर्दै एक हजार ८ सय लिन थालेको हो ।
भक्तपुर नगरपालिकाले पर्यटक शुल्कबाट उठेको रकमले नगरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकतामा खर्च गर्दै आइरहेको छ ।
भक्तपुर नगरमा हाल दैनिक ५÷६ सयको हाराहारीमा विदेशी पर्यटकहरू ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा नराम्रोसँग असर पारेकोमा हाल भने विदेशीहरूको आगमनसँगै व्यवसाय फस्टाउने आशा पलाएको व्यवसायीहरु बताउँछन ।
विश्व सम्पदा सूचीमा सूचिकृत यहाँका सम्पदाहरूको अवलोकन गर्न विदेशी पर्यटकहरूको आगमन बढेसँगै भक्तपुरका पर्यटन व्यवसायीहरू पनि खुशी देखिन्छन् । पर्यटकहरूको आगमनसँगै भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढ्दो छ ।


भक्तपुर घुम्न आउनेमा पर्यटकहरुमा भारत, चीन, अमेरिका, जापान, दक्षिण कोरिया र युरोपेली मुलुकका पर्यटकहरूको आगमन बढ्न थालेको नगरपालिकाले जानकारी दिए ।
भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र भएको छ । पर्यटकहरूको चहलपहल बढेसँगै यहाँका विभिन्न पेशा व्यवसायीहरूमा पनि आर्थिक गतिविधिहरू बढ्न थालेको बताइन्छ ।
भक्तपुरमा पर्यटकको आगमनमा बृद्धिका साथै रात्रीकालिन बसोबासका लागि पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले विविध कार्यक्रम आयोजना गर्दै आइरहेको छ । २०७२ को भूकम्पले क्षति गरेका सम्पदाहरुको पुनर्निर्माणका साथै ममर्त सम्भार र संरक्षणमा विशेष जोड दिँदैं आइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा चालु आर्थिक वर्ष मात्र १४ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न गरिसकेको छ भने एक दर्जन भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य भइरहेको छ ।
पर्यटकको आकर्षणका लागि नगरपालिकाले सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालिन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरुलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरुसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको छ ।
त्यसैगरी पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हारी उत्सव, भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गरेको छ ।