चेस च्याम्पियनसिपमा रुपेश, सुरविर र पुरुषोत्तमको संयुक्त अग्रता

भक्तपुर, बैशाख ७
नेशनल चेस च्याम्पियनसिपको दोस्रो दिन बुधवार तीन खेलाडीले संयुक्तरुपमा अग्रता लिएका छन । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी च्याम्पियनसिपको दोस्रो दिन दोस्रो चरणको खेल सम्पन्न हुँदा खुल्लातर्फ फिडे मास्टर रुपेश जैशवाल, पूर्व नेपाल च्याम्पियन सुरविर लामा र उदियमान खेलाडी पुरुषोत्तम सिलयालले २ अंकका साथ संयुक्तरूपमा अग्रता लिएका हुन ।
रुपेशले निकै रोचक खेलमा पूर्व नेपाल च्याम्पियन समेत रहेका केशव श्रेष्ठलाई पराजित गरे । कालो गोटी लिएर सिसिलेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेशलाई केशवले खेलको ३१ औं चालमा दवावमा राख्न सफल भए । रक्षात्मक अवस्थामा रहेका रुपेशले ३५ औं चालसम्ममा खेललाई बराबरी अवस्थामा ल्याउन सफल भए र ४१ औं चालमा खेलमा आफ्नो पकड बनाए र त्यसपछि केशवलाई लगातार दवावमा राख्दै खेलको ५४ औं चालमा खेल त्याग्न बाघ्य बनाए ।
अर्को प्रतिस्पर्धात्मक खेलमा सुरविरले आक्रमक खेलाडी फिडे मास्टर क्षितिज भण्डारीलाई हराउन सफल भए । कालो गोटी नै लिएर सिसिलिएन प्रणालीमा खेलेका क्षितिजलाई सेतो गोटी लिएर खेलेका सुरवीरले खेलको सातौं चालमा सिसिलिएन मार्को प्रणालीतर्फ धकेले ।
त्यसपछि निकै आक्रमण प्रत्याक्रमण भएको खेल ३३ औं चालसम्म बराबरी अवस्थामा नै रहेको थियो र ३४ औ चालमा क्षितिजले सानो गल्ती गर्न पुगे । जसको परिणामस्वरूप ३९ औं चालमा सुरवीरले हात्ती र घोडा दिएर मन्त्री लिन सफल भए । त्यसपछि क्षितिज माथी लगातार दवाव दिंदै खेलको ५७ औं चालमा सुरवीरले बाजी मार्न सफल भए ।


उदियमान खेलाडी पुरुषोत्तमले कोशी प्रदेश च्याम्पियन झापाका राजन सुवेदीलाई पन्छाउन सफल भए । सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तम आक्रमक देखिएका राजनलाई खेलको १४ औं चालमा नै दवावमा राख्न सफल भए । १४ औं चालमा पुरुषोत्तमले झुक्याउन सफल भए र १५ औं चालमा हात्ती दिएर २ वटा उँट लिई राजनलाई खेलमा तल परे । त्यसपछि पुरुषोत्तम तिव्र रुपमा आक्रमण गर्दै लगे ३९ औ चालमा खेल आफ्नो पक्षमा पारे ।
दिव्यान्स मल्ति प्रोडक्सनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा २१ औं राष्ट्रिय प्रतियोगिताका विजेता पुरुषोत्तम चौलागाईं झापाका प्रकाश नेपालसँग पराजित भए । उनी पहिलो चरणमा पनि राजन सुवेदीसँग हारेका थिए ।
क्यान्डिडेट मास्टर केशवको लागि पनि पहिलो र दोस्रो चरण सुखद रहेन । पहिलोमा सुरविर लामासँग पराजित भएका थिए । राजन सुवेदी, राजन पुरी प्रकाश नेपाल, क्षितिज भण्डारीले १ अंक जोडेका छन् ।
महिलातर्फ वोमेन फिडे मास्टर सुजना लोहनी, काठमाडौंका रिया श्रेष्ठ र पर्साका सुशिला गुरुङ र मोरङका शान्ति धिमाल शिर्ष स्थानमा रहेका छन् । सुजनाले कास्कीका पूजा भण्डारीलाई हराइन भने सुशिलााले पाँचौ राष्ट्रिय प्रतियोगिताका विजेता सिन्दिरा जोशीलाई पन्छाए ।
सुजना र पूजाको खेल रोमान्चक रह्यो क्विन्स ग्याम्विट प्रणालिमा खेल सुरु गरेका सुजनाले लगातार आक्रमण गरे । रक्षक्षात्मक खेलेका पूजाले सुजनाको हरेक चाललाई विफल बनाउदै लगे र खेलको २९ औं चालसम्म पुग्दा सुजनाले उँट बलिदान गरे । खेल आफ्नो अनुकुल भइसकेको अव्यवस्थामा पूजाले ३१ औ चालमा ठूलो गल्ति गरे । अनुभवी खेलाडी सुजनाले तुरुन्तै फाइदा उठाए र औ चालमा पूजालाई आत्मसमर्पण गर्न बाध्य बनाए ।
त्यस्तै रियाले झापाका पूजा सिंखडा माथी बाजि मारिन् भने शान्ति धिमालले काठमाडौका मार्सल तामाङ माथी जीत निकालिन् । त्यसैगरी चितवनका लक्ष्मी कँडेल र पूजा भण्डारीको १ अंक रहेको छ ।