एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, ईन्द्रले १६ सेकेन्डमै जिते स्वर्ण

भक्तपुर, बैशाख ७
अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडीले स्वर्ण जितेका छन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा ईन्द्रबहादुर श्रेष्ठका साथै उनका दुई बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा जारी प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका ईन्द्रले फाइनलमा लुम्बिनी प्रदेशका मनिष आलेलाई पराजित गर्दै स्वर्ण पदक जिते । उनले मनिषलाई खेल शुरु भएको १६ सेकेण्डमा पराजित गर्दै स्वर्ण जितेका हुन । ४ मिनेटको पुरा खेलमा ईन्द्रले इप्पोनका आधारमा प्रतिद्वन्द्वी मनिषलाई १६ सेकेन्डमै हराएका थिए । नेपाल आर्मीका किरण भट्टराई तथा बागमती प्रदेशका प्रवीण पाण्डे तेश्रो भए ।
महिला ४८ केजीमुनि फाइनलमा बागमतीकी निशा श्रेष्ठले एपीएफ क्लबकी रत्ना तामाङलाई हराइन् । लुम्बिनीकी प्रतीक्षा केसी तथा कर्णाली प्रदेशकी सकुन सुनुवार तेश्रो बने ।
५२ केजीमुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकी श्रेष्ठले आर्मीकी रोशना डंगाललाई पाखा लगाइन् । कर्णालीकी अनिता बुढा तथा प्रहरीकी प्रतिभा पुलामी मगर तेश्रो स्थानमा रहे । ईन्द्र, निशा र देवकी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।
महिला ५७ केजीमुनि आर्मीकी सिमाकुमारी चिडीले फाइनलमा एपीएफकी सुनिता थिङलाई पन्छ्याउदै स्वर्ण चुमिन् । बागमतीकी अन्जु पाण्डे तथा कर्णालीकी पेमा याङ्गी शेर्पाले कांस्य हात पारे ।
६३ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्यालले बाजी मारिन् । दिलकुमारीले फाइनलमा आर्मीकी लीला अधिकारीको चुनौती पन्छाइन् । कर्णालीकी बन्दना कुलुङ तथा लुम्बिनीकी निर्मल कुँवर तेश्रो भए ।
पुरुष ६० केजीमुनि कर्णालीका प्रवीणकुमार दियालीले शीर्ष स्थान कब्जा गरे । उनले फाइनलमा लुम्बिनीका विकास विकलाई पाखा लगाए । लुम्बिनीकै काशिराम महत तथा आर्मीका दिपक रास्कोटीले तेश्रो स्थानमा चित्त बुझाए ।
७३ केजीमुनि एपीएफका प्रमोद मण्डलले फाइनलमा बागमतीका सुनिल नगरकोटीमाथि जित रचे । लुम्बिनीका आयुश साहवत तथा बागमतीका राजु शर्मा भदाइ तेश्रो भए ।
पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ७ स्वर्णको छिनोफानो भएको छ । विजेतालाई सदस्य–सचिव घिसिङ, राखेपका सदस्य अन्जन धमलालगायतले पुरस्कृत गरे । प्रतियोगिताको अन्तिम दिन बिहीबार बाँकी ७ स्पर्धाको फाइनल हुनेछ ।
यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । उनका अनुसार प्रत्येक तौलसमूहबाट ४ खेलाडी प्रारम्भिक चरणमा छनोट हुने छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडी सहभागी छन् ।