उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम

भक्तपुर, चैत्र २६
मध्यपुर थिमि नगरपालिकाले आयोजित उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम भएको छ । श्री ३ विष्णुवीर धिमे खलःको संयोजनमा शनिवार बालकुमारीमा सम्पन्न प्रतियोगितामा सहभागी ३९ टोली मध्ये उत्कृष्ट प्रस्तुती गर्दै राज गणेश धिमे खलः प्रथम भएको हो । राज गणेशले पुरस्कार स्वरुप नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा काठमाण्डौं धर्मस्थलीको पुलांगु तःग्वगु धिमे खलःले दृतिय स्थान हासिल गरे । उक्त धिमे खलःले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै भक्तपुर कमलविनायकको यातु गणेश द्यो गुठीले तेस्रो स्थान हासिल गर्दै नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगितामा सूर्यविनायक नगरपालिका १, सिरुटारको लुँनिभा धिमे खलःले सान्त्वना पुरस्कार प्राप्त गरे भने धिमे प्रतियोगिताको चार जना निर्णायक मण्डडले लाय्कु धिमे खलः थिमिलाई जर्ज च्वाईसको उपाधि दिए । लुँनिभाले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने लाय्कु धिमे खलःले निर्णायक मण्डलको तर्फबाट एउटा धिमे उपहार पाए ।
प्रतियोगितामा विजयी धिमे खलःलाई पुरस्कृत गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले विगतमा नगरपालिकाको सहयोगमा सञ्चालन हुँदैं आइरहेको प्रतियोगितालाई यसपटक नगरपालिकाले स्वयम्ले स्वामित्व लिएर सञ्चालन गरेको बताउनुभयो ।
उहाँले मध्यपुर थिमि कला संस्कृति, सम्पदाले धनी भइकन पनि यसलाई आर्थिक आय आर्जनसँग जोड्न नसक्दा पर्यटन उद्योगको विकास हुन नसकेको निष्कर्षसहित नगरपालिकाले यहाँको पर्यटन उद्योगसँगै कला संस्कृतिको संरक्षणका लागि थप नीति ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।


धिमे प्रतियोगिताले मध्यपुर थिमिमा बिस्काः जात्राको रौनक थप बढाएको चर्चा गर्दै उहाँले यसवर्षको बिस्काः जात्रा अवलोकनका लागि संस्कृति मन्त्रीलगायत काठमाण्डौं उपत्यकाका सबै नगरपालिकाका प्रमुख, उपप्रमुखसहितको जनप्रतिनिधिहरुलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । यसले यहाँको जात्रा पर्वमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिता संयोजक एवम् वडा नं. ४ का वडा सदस्य मदन ख्या श्रेष्ठले प्रतियोगितामा उपत्यकाका ३९ धिमे खलः तथा पुचःको सहभागिता रहेको जानकारी दिनुभयो । प्रतियोगिताको संयोजन गरेको श्री श्री श्री विष्णुवीर धिमे खलःका अध्यक्ष ईन्द्रभक्त श्रेष्ठले प्रतियोगिता थिमिको पहिचान बन्दै गएको चर्चा गर्नुभयो ।