स्वास्थ्य बिमा नीतिलाई परिमार्जन गर्नुपर्नेमा जोड

भक्तपुर, चैत्र २६
स्वास्थ्य बिमा नीतिलाई समयानुकुल परिमार्जन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउँदैं नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पुहुँचका लागि स्वास्थ्य बिमा नीतिलाई परिमार्जन गर्नुपर्ने बताएका हुन ।
सातौं स्वास्थ्य बिमा दिवसको अवसरमा शनिवार भक्तपुरमा बागमती प्रदेश शाखाले आयोजित कार्यक्रममा सहभागीहरुले कतिपय आवश्यक औषधी बिमामा नसमेटिएको, बिमा दर्ता सहायकहरुको पारिश्रमिक अपुग भएको भन्दै बिमा नीतिलाई समानुकुल परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायष्ठले बिमाका कारण भक्तपुर अस्पतालमा सेवाग्राहीको संख्या दिनानुदिन बृद्धि भएको र त्यसले स्वास्थ्य सेवा बिस्तारमा सहयोग पुर्याएको बताउनुभयो । उहाँले कतिपय औषधी बिमामा समावेश नहुँदा सेवाग्राहीको गुनासो आउने गरेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जिल्लामा स्वास्थ्य बिमितको संख्या बृद्धि गर्न लक्ष्य निर्धारण गर्नुपर्ने सुझाव दिँदैं सेवाग्राही, सेवा प्रदायक स्वास्थ्य संस्था र दर्ता सहायकको गुनासो सम्बोधन गरी अघि बढ्न सके स्वास्थ्य बिमा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्प्तालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलले कुनै नीति आपैंm पूर्ण नहुने बताउँदैं यसलाई समयानुकल परिमार्जन गरी थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।


शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रका प्रशासकिय अधिकृत हरिहर पोखरेल चिकित्सकले औषधीको जिनेटिक नाम लेख्नुपर्नेमा ट्रेडमार्कको नाम उल्लेख गर्दा भनेको औषधी नपाउने र सेवाग्राहीको गुनासो आउने गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले स्वास्थ्य बिमा आजको अवस्थामा आउनमा बिमा दर्ता सहायकहरुको ठूलो मेहनत रहेको चर्चा गर्दै उनीहरुको सेवा सुविधा बृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सेवाप्रदायक स्वास्थ्य संस्थाले समयमा भुक्तानी नपाएको भन्दै सेवा नै बन्द गर्ने गरेका घटनाले सेवाग्राही मर्कामा परेको उल्लेख गर्दै बिमा बोर्डले त्यस्ता समस्या समयमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य बिमा दर्ता सहायक, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, भक्तपुर सामुदायिक आँखा केन्द्र, वि पि बाल आँखा, कान, नाक अस्पताल, सूर्यविनायक नगर अस्पतालका प्रतिनिधिहरुले बिमाका कारण स्वास्थ्यमा सर्वसाधारणको पहुँच बृद्धि भएको चर्चा गर्नुभयो ।
स्वास्थ्य बिमा बोर्ड बागमती प्रदेश कार्यालयका प्रदेश संयोजक जीवलाल खरेलले बागमती प्रदेश र भक्तपुरमा स्वास्थ्य बिमाको अवस्थाका बारेमा प्रस्तुतीकरण मार्फत जानकारी दिँदै अहिलेसम्म नेपालमा ६४ लाखले स्वास्थ्य बिमा गरेको बताउनुभयो ।
उहाँले भक्तपुरमा बिमित मध्ये ५५ प्रतिशतले सेवा उपयोग गरेको जानकारी दिँदैं भक्तपुरमा यसको प्रभाकारिता बागमती प्रदेशमै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले प्राप्त सुझावलाई कार्यान्वयनको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।