सतकुलपुत्त अल्पकालिन श्रामणेर प्रव्रज्या माझखण्ड बुद्ध विहारमा शुभारम्भ

सुनीता तुलाधर शिल्पकार, ललितपुर, चैत २४ गते ।
अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु शीलभद्र महास्थविरको उपाध्यायत्वमा १० दिने सतकुलपुत्त दुर्लभ श्रामणेर प्रव्रज्या कार्यक्रम माझखण्ड बुद्ध विहार, माझखण्ड, ललितपुरमा विहिवार शुभारम्भ भएको छ ।
अखिल नेपाल भिक्षु महासंघको संरक्षणमा विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारको संयुक्त आयोजनामा शुरु भएको उक्त कार्यक्रममा धम्मदायाद (प्रव्रजित हुने व्यक्ति) हरु कपाल खौरिसकेपछि सेतो वस्त्र लगाइ माझखण्डको स्थानीय क्षेत्रमा परिक्रमा गरी विहारमा पुगेका थिए ।


विहारमा पुगेपछि भिक्षु महासंघको निर्देशनमा उपासकउपासिकाहरुले धम्मदायादहरुलाई चीवर दान गर्नुभयो । भिक्षु निग्रोध महास्थविरले ‘सब्ब दुक्ख निस्सरण निब्बानस्स सच्छिकरणत्थाय इमं कासावं गहेत्वा …..’ भनी धम्मदायादहरुलाई वाक्य वाचन गराउनु भइसकेपछि उहाँहरुले सो चीवर उपाध्याय भन्ते लगायत गुरु भन्तेहरुलाई प्रदान गरेका थिए । र ‘सब्ब दुक्ख निस्सरण निब्बानस्स सच्छिकरणत्थाय एतं कासावं दत्वा …..’ भनी वाक्य वाचन गरिसकेपछि गुरु भन्तेहरुले चीवर धम्मदायादहरुलाई नै प्रदान गर्नुभएको थियो ।
उहाँहरुले चीवर पहिरिसकेपछि भिक्षु बोधिज्ञान महास्थविर श्रामणेर प्रव्रज्याको याचना पाठ गराउनुभएको थियो भने उपाध्याय भिक्षु शीलभद्र महास्थविरले धम्मदायादहरुलाई दश शील प्रदान गर्नुभएपछि उहाँहरुले श्रामणेर प्रव्रज्या प्राप्त गर्नुभएको थियो ।

उक्त अवसरमा अनेभिमका महासचिव धर्मगुप्त महास्थविरले प्रवज्या हुनुको महत्वबारे धर्मदेशना दिनुहुँदै ‘प्रवजित व्यक्तिले विहारमा विहारको निति नियममा बसेर बुद्ध धर्मको अध्ययन गरी ज्ञानी पण्डित बन्न सक्छ’ भन्नुभयो ।
उक्त कार्यक्रममा माझखण्ड बुद्ध विहारका प्रमुख भिक्षु बोधिज्ञान महास्थविरले यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुशी लागेको बताउनुहुँदै यस कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नु हुने अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु संघलगायत दाताहरु र उपासकउपासिका सम्पूर्णलाई साधुवाद दिनुभयो ।
यस प्रव्रज्या कार्यक्रमका लागि निस्रयाचार्य (गुरु भन्ते) का रुपमा यस विहारका विहारप्रमुख भिक्षु बोधिज्ञान महास्थविर र थाइल्याण्डका भिक्षु कित्तिफोङ बस्नुभएको छ ।


माझखण्ड वरिपरिका बालकहरुको लागि लक्षित गरी गरिएको उक्त कार्यक्रममा मकवानपुर, काठमाडौं, ललितपुर, किर्तिपुर लगायत विभिन्न ठाउँहरुबाट भिन्न भिन्न उमेरका व्यक्तिहरुले दुर्लभ अल्पकालिन श्रामणेर प्रव्रज्या प्राप्त गरेका छन् ।
सहभागी प्रव्रजित श्रामणेरहरु २०७९ चैत २३ गते देखि २०८० बैशाख २ गतेसम्म १० दिन पूर्णरुपमा भगवान बुद्धले बताउनु भएको नियममा बस्नु हुनेछ ।