भक्तपुरमा सरकारी कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनिङ शुरु

भक्तपुर, चैत्र २४
आज अप्रिल ७ । सबैको लागि स्वास्थ्य मुल नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाईंदैछ । यसै अवसरमा भक्तपुरमा राष्ट्र सेवक कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनिङ गरिएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना गरेको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कँडेल, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरामणी सुवेदीलगायतले स्वास्थ्य परीक्षण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।


कार्यक्रममा नसर्ने रोगको न्युनिकरणका लागि संकल्पसहितको पाँच बुँदें प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । सो पाँच बुँदें प्रतिवद्धता पत्रमा ‘म रक्सी र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोसिलो खाना खान्छु, म नियमित स्वास्थ्य परिक्षण गर्छु र म, मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजक रहन्छ’ु उल्लेख गरिएको छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले नागरिकले आप्mनो स्वास्थ्यका बारेमा सामान्य चासो र जिज्ञासा राख्ने हो भने पनि नसर्ने रोगको प्रकोपबाट बच्न सकिने बताउनुभयो । उहाँले दैनिक केही समय व्यायाम गर्ने, खानपानमा ध्यान दिने र सुत्ने तथा उठ्ने समयलाई ख्याल गर्न सके मानिस निरोगी हुने बताउँदैं मोवाईलमा समय बिताउनु भन्दा हिँडडुलमा समय बिताउनु पर्नेमा जोड दिनुभयो ।


बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अन्तर्गत बागमती प्रदेशमा ३० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क गरी नसर्ने रोगको अवस्था पहिचान गर्ने कार्यक्रम लागु भइरहेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तह र संघिय सरकारको समेत सहयोग र समन्वयमा आम नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले महिला स्वास्थ्य स्वयम् सेविकाहरुको समेत सहयोगमा सबैका लागि स्वास्थ्य सेवा उपलब्ध गराईरहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रदेश स्वास्थ्य अधिकृत हरी भुषालले बागमती प्रदेश र स्वास्थ्य कार्यालयका भक्तपुर प्रमुख कृष्ण बहादुर मिजारले जिल्लाका नागरिकहरुको स्वास्थ्य र स्वास्थ्य संस्थाहरुको अवस्था एवम् वस्तुस्थितीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।


सोही अवसरमा विश्व स्वास्थ्य दिवसको अवसरमा विद्यालयस्तरिय निबन्ध प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । निबन्ध प्रतियोगितामा सूर्यविनायक नगरपालिका १० को जोरपाटी माविका ईशा बुढाथोकी प्रथम, चाँगुनारायण नगरपालिकाकोे गणेश माविका कृतिका सुवाल दृतिय र सूर्यविनायक नगरपालिको ज्योती माविका पूर्णिमा श्रेष्ठ तृतिय हुनुभएको थियो ।


यसैगरी कार्यक्रममा हाजिरी जवाफ प्रतियोगितामा विजयी भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका महिला स्वास्थ्य स्वयम् सेविकालाई पनि पुरस्कृत गरिएको थियो । साथै स्वस्थ बालबालिका प्रतिष्पर्धामा उत्कृष्ट हुन सफल भक्तपुरका चार वटै नगरपालिकाका एक एक बालबालिकाहरुका आमालाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने आमाहरुमा भक्तपुर नगरपालिकाका रेश्मा प्रजापति, मध्यपुर थिमिका तुलसीमाया सिपाईं, चाँगुनारायण नगरपालिकाका सरला खत्री र सूर्यविनायक नगरपालिकाका नमूना दाहाल हुन ।