अन्तर्राष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा माझखण्ड बुद्ध विहारमा विविध बाैद्ध कार्यक्रम

ललितपुर, चैत २६ गते ।

अन्तर्राष्ट्रिय बौद्ध दिवसको उपलक्ष्यमा माझखण्ड बुद्ध विहार, माझखण्डमा हिजो शनिवार चंक्रमण, जंगल ध्यान तथा धम्मचक्क पाठ र दीप प्रज्वलन गरी मनाइएको छ ।
विश्व शान्ति विहार र माझखण्ड बुद्ध विहारको संयुक्त आयोजनमा नेपालका भिक्षुहरु लगायत थाइल्याण्डको धम्मकायका थाइ भिक्षुहरु, भारतीय भिक्षु, भियतनामी भिक्षु, अनागारिका गुरुमाहरू लगायत नव प्रव्रजित सतकुलपुत्त श्रामणेरहरु एवं उपासकउपासिकाहरू सम्मिलित भएका थिए ।


उक्त अवसरमा माझखण्ड बुद्ध विहारदेखि सल्लेडाँडासम्म सबै भन्तेहरु, श्रामणेरहरु एवं उपासकउपासिकाहरु खाली खुट्टाले शान्त रुपमा चंक्रमण ध्यान गर्नुहुँदै पुगेपछि सल्लेडाँडाको जंगलमा केही समय ध्यान पनि गर्नुभएको थियो । र पुनः त्यहाँबाट विहारसम्म चंक्रमण ध्यान गर्दै फर्कनु भयो ।
सोही दिन साँझ विहारको माथिल्लो तल्लाको चैत्य सामुन्ने सबैजना बसी धम्मचक्कपवत्तन सुत्त पाठ गरीसकेपछि हातमा मैनवत्ती बालेर हातमा लिई चैत्यलाई तिन पटक परिक्रमा गरेर मैनबत्तीको दीप प्रज्वलन गरी अन्तर्राष्ट्रिय बौद्ध दिवस मनाइयो ।

साे अवसरमा धर्मदेशना दिनुहुँदै विहारप्रमुख भिक्षु बोधिज्ञान महास्थविरले जापानको वल्र्ड बुद्धिष्ट सुप्रिम कन्फरेन्सको आयोजनामा भएको सम्मेलनको घोषणापत्र अनुसार अप्रिल ८ लाई अन्तर्राष्ट्रिय बौद्ध दिवसको रुपमा मनाउने भनि निर्णय भएको थियो । सोही अनुसार अप्रिल ८ को दिनमा धम्मचक्क पाठ गर्दै दीप प्रज्वलन गरेर मनाएको बताउनुभयो ।