अनलाइनबाट ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित १९ जना पक्राउ

भक्तपुर, चैत्र १५
अनलाइन व्यापारको नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ९ जना चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र काठमाण्डौं महानगरपालिका–४ चण्डोलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चिनिया नागरिकहरु काठमाण्डौं बुढानिलकण्ठ २ महादेवखोला बस्ने ह्वाङ ह्वान्रोङ, छु फुसियाङ, लान झेङवे, जेइ गुओ यी, जेइ सुवाङ डी, गाओ मिङ छन । यस्तै काठमाण्डौं महानगरपालिका–४ चण्डोल बस्ने हउ पिङ भिङ, चेन दुर लिन र ली जियान होङ छन् ।


पक्राउ पर्ने नेपालीहरुमा हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ–२ चपली बस्ने दोलखा शैलुङगेश्वर–३ का ४६ वर्षिय बुद्धिराज श्रेष्ठ, नुवाकोट शिवपुरी–५ का २९ वर्षिय ईन्द्र तामाङ, नुवाकोट शिवपुरी–६ का ३६ वर्षिय राजकुमार लामा, २५ वर्षिय प्रयास भण्डारी, दोलखा बैतेश्वर–२ का २६ वर्षिय अर्जुन श्रेष्ठ छन ।


यसैगरी रामेछाप उमाकुण्ड–४ घर भई हाल काठमाण्डौ बौद्ध जोरपाटी बस्ने ३४ वर्षिया रविना सुनुवार, लम्जुङ दुधपोखरी–.६ घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ –२, महादेबखोला बस्ने ३४ वर्षिया सुनिता गुरुङ, मकवानपुर हेटौडा उप महानगरपालिका–८ घर भई हाल ललितपुर हात्तिवन बस्ने २२ वर्षिया कृष्टिना लामा भन्ने जमुना गोले, उदयपुर गाईघाट–११ घर भई हाल काठमाण्डौ महानगरपालिका–४ चण्डोल बस्ने १९ वर्षिया अनिता मगर र गोरखा चुमनुब्री गाउँपालिकाका २० वर्षिया अनु गुरुङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) सोमन्द्र सिंह राठोरले बताउनुभयो ।


काठमाडौको विभिन्न स्थानमा घर भाडामा लिई चिनियाँ नागरिकहरुले अवैध रुपमा कार्यालय स्थापना गरी सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत सम्पर्क गरी अनलाइन व्यापारमा लगानी गरे ठूलो फाइदा हुन्छ भनी लगानी गर्न लगाई ठगी गरिरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको एसपी राठोरले बताउनुभयो ।
अनुसन्धानको क्रममा चिनियाँहरुले टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत अनलाईन कक्षा संचालन गरी विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी ठगी गरेको पाईएको एसपी राठोरले जानकारी दिनुभयो ।


प्रहरीले ल्यापटप १२ वटा, सिमसहितको मोबाइल सेट ७७ थान, सिम कार्ड ७४ थान, राहदानी ६ थान, डेक्सटप कम्प्युटर २ थान, ईन्टरनेट राउटर ४ थान र ४ लाख एक हजार ८८० नेपाली रुपैंया बरामद गरिएको जनाएको छ ।
पक्राउ परेका सबैलाई ठगी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको छ ।