सूर्यविनायक – साँगा सडक खण्डको निर्माण शुभारम्भ गर्दै सांसद थापाले भन्नुभयो, विकासमा राजनीति नगरौं

भक्तपुर, चैत्र १६
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति सांसद दुर्लभ थापाले विकासमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । सूर्यविनायक – धुलिखेल, धुलिखेल – सिन्धुली – बर्दिवास सडक आयोजना अन्र्तगत सूर्यविनायक – साँगा सडक खण्डको बिस्तार कार्य बिहिवार भक्तपुरमा शुभारम्भ गर्दै सांसद थापाले विकास निर्माणमा राजनीतिक दलहरुबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सडक सबैको साझा सम्पत्ति भएको बताउँदैं यसको निर्माण समयमा सम्पन्न गर्न स्थानीय तह, प्रदेश र संघिय संसदका जनप्रतिनिधिहरुले सहकार्य समन्वय गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सडक सबैको साझा सम्पत्ति हो । यसको निर्माण समयमा सम्पन्न गर्नुपर्छ । यसका सरोकारवाला सबैले अपनत्व लिएर अघि बढ्नु पर्छ, उहाँले भन्नुभयो ।


उहाँले बजेटका कारण सडक निर्माणको काम रोकिनु नहुने बताउँदैं समयमा बजेट उपलब्ध गराउन संघिय सरकारमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भाषण धेरै गर्नेले काम नगर्ने चर्चा गर्दै अहिलेको परिस्थितीमा भाषण भन्दा बढी काम गरेर देखाउनु पर्ने जरुरी रहेको औंल्याउनुभयो ।
उहाँले कमलविनायक नगरकोट सडकको दुरावस्थाले त्यहाँका जनताले जुन खालको सास्ती व्यहोर्नु पर्यो त्यस्तो अवस्था यो सडकमा आउन नहुने बताउनुभयो । काठमाण्डौंको चक्रपथ निर्माण सम्पन्न भएको केही वर्षमा पुनः विभिन्न निर्माण कार्यका लागि भत्काउनु परेको उदाहरण प्रस्तुत गर्दै सूर्यविनायक धुलिखेल सडकमा पनि त्यस्तो अवस्था आउन नदिन सडकका ओभरहेड क्रस ब्रिजलगायतका आवश्यक पुर्वाधार समेत एकै पटकमा निर्माण हुने गरी कार्य अघि बढाउन सडक आयोजनालाई निर्देशन दिनुभयो ।


उहाँले एक पटक निर्माण भएको सडकमा कम्तिमा २५ वर्ष भत्काउन र पुनः निर्माण गर्न नपर्ने गरी योजनावद्ध र गुणस्तरिय कार्य हुनुपर्नेमा जोड दिँदैं निर्माण कम्पनीलाई समयमा निर्माण कार्य सम्पन्न गर्न सुझाव दिनुका साथै त्यसका लागि आवश्यक सहकार्य समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बागमती प्रदेशका सांसद किरण थापाले २०७४ मा स्थानीय तहको जनप्रतिनिधिमा निर्वाचित भए लगत्तै सूर्यविनायकदेखी जगातीसम्मको सभिर्स ट्रयाक खोल्ने क्रममा स्थानीय जनताले कुनै अवरोध नगरी सहयोग गरेको स्मरण गराउँदैं योजनावद्ध ढंगले समयमा निर्माण कार्य सम्पन्न हुने गरी कार्य गरे स्थानीयबाट कुनै वाधा अड्चन नआउने विश्वास दिलाउनुभयो ।
उहाँले सडक निर्माण गर्दा निर्माण सामग्री, सडकका संरचनाले दुर्घटना हुन सक्ने र मानवीय तथा भौतिक क्षती हुनेतर्फ सचेत भइ निर्माण कार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सूर्यविनायक साँगा सडक अत्याधिक सवारी चाप हुने सडक भएकाले निर्माण कार्यलाई सहज बनाउन दुई पाङग्रे र हलुका सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गर्न सुझाव दिनुभयो ।


सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सडक निर्माणका लागि नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाउँदैं सडक निर्माणमा अनुशासित, मेहनत र लगनशिलताका साथ सम्झौतामा उल्लेख भए अनुसार काम गरे कुनै वाधा अवरोध नआउने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवाँले पारदर्शी ढंगले मापदण्ड अनुसार गुणस्तरिय कार्य हुनुपर्ने र सडकमा आवश्यक क्रसिङ व्रिजहरु पनि अहिले नै निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
आयोजनाका प्रमुख राजेन्द्र प्रसाद दासले २०७९ पुसमा ठेक्का सम्झौता भएको यो सडकको निर्माण अवधी ३ वर्षको भएको जानकारी दिँदैं स्थानीय, प्रदेश र संघिय जनप्रतिनिधिहरुको साथ सहयोग समन्वय र सहकार्य भए समयमा काम सम्पन्न हुने विश्वास दिलाउनुभयो । उहाँले सडक निर्माण गर्दा सडक सुरक्षालाई विशेष ध्यान दिने र क्रसिङ व्रिजको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा निर्माण कम्पनीका प्रमुख मुकेश पन्त, ईं सि एन यादवले सूर्यविनायक साँगा खण्डको करिव ७ दशमलव ५ किलोमिटर सडक मध्ये पलाँसेसम्म ६ लेन र पलाँसेदेखी साँगा खण्ड ४ लेनको हुने जानकारी दिँदैं सम्झौता बमोजिम गुणस्तरिय कार्य गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।