मध्यपुर थिमिको विकासमा समन्वयकारी भूमिका खेल्छु – सांसद थापा

भक्तपुर, चैत्र १५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सरकार बिस्तार छिट्टै हुने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवसको अवसरमा मंगलवार बोडेको कुमारी द्यो परिसरमा आयोजित कार्यक्रममा सांसद थापाले गठबन्धनको संस्कृति र मर्म अनुसार सबै दलको सम्मानजनक अपनत्व हुनेगरी छिट्टै सरकार बिस्तार हुने बताउनुभएको हो ।
उहाँले विकास निर्माण प्रक्रिया नियमित चल्दै गर्ने बताउँदैं त्यसलाई गति दिने विषयमा आफुले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले विगतमा जस्तो विकासको सस्तो प्रचार र लोकप्रियतामा आफु नलाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
“सांसदको मुख्य जिम्मेवारी राज्य र नागरिकलाई आवश्यक नीति नियम ऐन कानुन बनाउने हो । हिजोको जस्तो एउटै सडक तीन पटक शिलान्यास र उद्घाटन गरेर सस्तो प्रचार र लोकप्रियताका काम अब हुने छैन,” उहाँले भन्नुभयो ।
उहाँले मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरिरहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग, फार्मेसी, एचए जस्ता विषय पढाउन मिल्ने गरी शिक्षासँग जोड्नुपर्ने र त्यसका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
“नगरपालिकाको अस्पताल सबैको साझा सम्पत्ति हो । यसको स्तरोन्नती, सेवा बिस्तार गर्ने र यसलाई स्वास्थ्य शिक्षाको केन्द्र बनाउने कार्यमा सधै सहयोग र सहकार्य गर्नेछु,” उहाँले भन्नुभयो ।


सांसद थापाले नगरका सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउदै जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा सञ्चालन गर्नुपर्ने र नगरपालिकाले प्राविधिक धारको विद्यालय शिक्षालाई महत्वका साथ् अघि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
बागमती प्रदेशका सांसदद्वय डा. राजेन्द्रमान श्रेष्ठ र धनेश्वरी प्रजापतिले नगरपालिकाले प्रदेश सरकार र सांसदहरुसँग समन्वय गरे विगतमा जस्तो बजेट फ्रिज भएर जाने समस्या नहुने र प्रदेश सांसदको हैसियतले विकास निर्माणमा सधै सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मध्यपुर थिमिका संस्थापक नगरप्रमुख मदनकृष्ण श्रेष्ठले नगरको विगतदेखि वर्तमान सम्मको विकास प्रक्रियाबारे चर्चा गर्दै तत्कालिन अवस्थामा अत्यन्त न्यून बजेट, सिमित अधिकारकाबीच नगरको दिर्घकालिन विकासका खाका कोरिएको बताउनुभयो ।


नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिपकुमार प्रजापति भिष्मले नगरपालिकाको अघिल्लो नेतृत्वको कारण प्रदेश सरकारले विनियोजन गरेको करौडौं रकम काम गर्न नदिएर फिर्ता भएको स्मरण गर्दै त्यसले मध्यपुरको विकासमा असर गरेको बताउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाले नगरको विकास निर्माणमा एमालेलाई भागवण्डा नचाहिने तर विकास निर्माणका कार्य सञ्चालन गर्दा नेकपा एमालेलाई एक्ल्याएर अघि बढे सह्य नहुने चेतावनी दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विकास निर्माणका योजनालाई तिव्रता दिँदैं नगरपालिकामा सुशासन कायम गर्न नीति निर्माणमा समेत जोड दिँदैं अघि बढेको बताउनुभयो ।


कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष रमेश वैद्य, नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरीदास प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता वाडे, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलगायतले शुभकामना व्इक्त गर्दै नगरपालिकाको विकासमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत र नगरप्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले नगरको विकासमा सबैसँग सहकार्य र समन्वय गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा नगरपालिकाले उत्कृष्ट वडा स्तरीय उपभोक्ता समिति अन्तर्गत वडा नं. ३ को स्वच्छ सरस्वती नगर ढुङ्गा छपाई उपभोक्ता समिति, शाक्य ढुङ्गा बिक्रि डिपो र वडा नं. ३ का उग्र बहादुर शाक्यलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको थियो ।


यसैगरी गणेश मावि नगदेश उत्कृष्ट सामुदायिक विद्यालय, त्रि स्टार ईङ्गलिस सेकेण्डरी स्कुल लोहकिल्थली उत्कृष्ट संस्थागत विद्यालय, हलुका सवारी चालक राम सुनुवार मध्यपुर थिमि नगरपालिकाको यसवर्षको उत्कृष्ट कर्मचारी घोषित गर्दै सम्मान गरिएको थियो ।
सोही अवसरमा बोडेको ऐतिहासिक पलेस्वाँ पुखुःलाई सार्वजनिक पोखरी कायम गर्न अतुलनीय भूमिका र योगदानको कदर स्वरुप पलेस्वाँ पुखुः संरक्षण समितिलाई विशेष कदरपत्र प्रदान गरिएको थियो ।
यसैगरी उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त दुई कर्मचारी धनकृष्ण श्रेष्ठ र अञ्जली श्रेष्ठलाई पनि ससम्मान बिदाई गरिएको थियो । यस्तै अवकाश प्राप्त महिला स्वास्थ्य स्वयम् सेविकाहरु २१ जनालाई जनही एक लाख रुपैंयासहित ससम्मान बिदाई गरिएको थियो भने स्थापना दिवसकै अवसरमा नगरपालिकाले प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी दुई÷दुई जना ज्येष्ठ नागरिकलाई नगद राशीसहित सम्मान गरेको थियो ।

सोही अवसरमा विभिन्न विद्यालयका विद्यार्थी, नगदेश साँस्कृतिक पुचःलगायतले महाकाली नाच, देवी नाच, नेवारी नृत्यलगायतका साँस्कृतिक झाँकी प्रस्तुत गर्नुभएको थियो ।