विकास निर्माणमा तिव्रतासँगै सुशासन कायम गर्न ऐन निर्माणमा जुटेका छौं – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, चैत्र १४
‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ भन्ने मुल नाराका साथ २०५३ सालमा स्थापना भएको यस मध्यपुर थिमि नगरपालिकाको आज २७ औं स्थापना दिवस भव्य र सभ्यरुपमा मनाउँदैं गर्दा सर्वप्रथम सम्पूर्ण नगरवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२०५४ मा स्थानीय निकायको निर्वाचन हुँदैं गर्दा तत्कालिन ५ वटा गाविस समायोजन गरी स्थापना गरिएको यो नगरपालिकामा २०५४ को निर्वाचित जनप्रतिनिधिहरुको पालादेखी विकासको फड्को मारेको सर्वविदितै छ । त्यसबेलाको सिमित स्रोत साधनका बाबजुद निरन्तर विकास निर्माणका कार्य सञ्चालन गरेको अनुभव त्यसबेलाको जनप्रतिनिधिको हैसियतले मलाई पनि रहेको छ ।
यसवर्षको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भइसकेपछिको यो १० महिने कार्यकालमा हामीले विकास निर्माण कार्यलाई तिव्रता दिँदैं नगरपालिकामा सुशासन कायम राख्न ऐन नियम निर्माणमा जोड दिएका छौं । यस कार्यमा हामीलाई यहाँका राजनीतिक दल, बुद्धिजीवि, कर्मचारी, नगरवासी सम्पूर्णले सहकार्य र सहयोग गरेको पाएका छौं ।


निर्वाचित भए लगत्तै नगरपालिकामा सुशासन कायम राख्न पहिलो नगर अधिवेशनमा ४ वटा ऐन निर्माण गरी पारित गरेको र पछिल्लो नगरसभाको हिउँदे अधिवेशनले फोहोर मैला व्यवस्थापनका लागि आवश्यक ऐन समेत गरी ५ वटा ऐन पारित गरी कार्यान्वयनमा ल्याएका छौं ।
चालु आर्थिक वर्षका २९० योजना मध्ये १९७ वटा योजना सञ्चालन भइरहेको, ४९ वटा सम्पन्न भएको छ । प्रदेश र संघिय सरकारबाट विनियोजित बजेटका योजनाहरु मध्ये २० वटा सडक कालोपत्रे भइसकेको छ ।
स्वबासी जग्गा दर्ता खुल्ला गरी हजारौं परिवारलाई स्वबासी जग्गा दर्ता गरी धनीपुर्जा वितरण गरिएको छ । साँस्कृतिक नगरीलाई जिवन्त बनाउन यहाँको मौलिक नामहरुको जगेर्ना र संरक्षण गर्न मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन समिति गठन गरी कार्य अघि बढाएको छ ।


मध्यपुर थिमि नगरपालिकालाई गुरुयोजना निर्माण गरी अघि बढ्नुपर्छ भन्ने योजना अनुसार निलबाराही मन्दिरको संरक्षण समेत हुने गरी एउटा विस्तृत परियोजना तयार गर्ने उद्देश्यले हाल डिपिआर तयार भएको र सो डिपिआर अनुसार चाँडो भन्दा चाँडो निर्माण कार्य अघि बढाईनेछ ।
मध्यपुर थिमि नगरपालिकाको सिद्धिकाली क्षेत्रमा परम्परागत पदयात्रा मार्ग ‘वाकिङ पव’ बनाउने उद्देश्यले कार्य अघि बढाईएको छ । सो क्षेत्रमा कुनै पनि भौतिक पुर्वाधार निर्माण नगर्ने र एउटा खुल्ला क्षेत्रको रुपमा शहरी सौन्दर्य कायम गर्ने उद्देश्यले कार्य अघि बढाईएको छ ।
मध्यपुर थिमि परम्परागत र नयाँ आधुनिक शहरी क्षेत्रको रुपमा विकास भइरहेको छ । परम्परागत पुरानो बस्तीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले नमुना परियोजना निर्माण शुरु गरेका छौं । यसलाई आगामी नगरसभाले पारित गरी कार्यान्वयनमा लैजाने छौं ।


नगरका पोखरी, पाटी, पौवा निर्माण गर्यौं अब त्यस क्षेत्रका घरहरुलाई पनि परम्परागत स्वरुपमा निर्माण गर्ने, त्यसका लागि भवन निर्माण मापदण्ड तयार गरीसकेको र निर्माण भइसकेको घरहरुलाई पनि परम्परागत शैलीमा पुनर्निमाणका लागि विस्तृत परियोजना निर्माण गरेका छौं ।
शिक्षा क्षेत्रको सुधारका लागि ऐन निर्माण गरी सकेको र नियमावली निर्माणको चरणमा रहेको छ । विद्यालयहरुको शैक्षिक पात्रो निर्माण कार्य अगाडि बढाएको, संस्थागत विद्यालयहरुसँग छलफल गरी शुल्क निर्धारणको कार्य समेत वैज्ञानिक तरिकाले निर्धारण गरिने छ ।
सामुदायिक विद्यालयको स्तरोन्नतीको लागि प्रत्येक विद्यालयको प्रोफाइन निर्माण गरिएको र सोही प्रोफाइल अनुसार विद्यालयको प्रगती विवरण र प्रतिवेदनका आधारमा थप सुविधा प्रदान गर्दै जानेछ ।
स्वास्थ्यतर्फ निर्वाचन घोष्णापत्र अनुसार स्वास्थ्य विमालाई प्राथमिकतामा राखी नगरका ६० देखी ७० वर्ष उमेरका ज्येष्ठ नागरिक र उहाँहरुका परिवारका ५ जनाको निःशुल्क स्वास्थ्य बिमा कार्यान्वयन गरिसकेको छ । हालसम्म १ हजार ५५ जनाले उक्त सेवाको लाभ लिइसकेको छ । ५ वर्षभित्र सम्पूर्ण नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजनाका साथ कार्य भइरहेको छ ।


नगरवासीलाई निःशुल्क रगतको व्यवस्था गरिएको छ । सबै वडामा स्वास्थ्य सेवा बिस्तार गरिएको छ । व्लड बैंक स्थापना गर्ने कार्य अघि बढेको छ । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा धेरै सुधारका कार्य गरिएको छ । डायलासिस सेवा सञ्चालन गरिएको छ । दन्त रोग, वाथ रोग, बालरोग सम्बन्धी नाक कान घाँटीको सेवा शुरु गरिएको छ । न्यूरो शल्यक्रिया शुरु गरिएको छ । सिटी स्क्यान सेवा छिटै शुरु गरिनेछ ।
मध्यपुर उज्यालो अभियान अन्तर्गत अरनिको राजमार्ग उज्यालो गर्ने कार्य सम्पन्न भइसकेको छ । मध्यपुर थिमिका सबै सडकमा बत्ति बाल्ने उद्देश्यले करिव ४ करोडको टेण्डर प्रक्रिया शुरु गर्ने तयारी भइरहेको छ । नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशतको लागतमा यो योजना सञ्चालन हुनेछ ।
विगत २० वर्षदेखी रोकिएको घरनक्सा नियमित गर्ने प्रक्रिया शुरु गरिएको छ । यस प्रक्रिया अन्तर्गत मध्यपुर थिमिको पुरानो प्राचिन बस्तीहरु थिमि, नगदेश बोडेका पुराना घरहरुको समेत नक्सा पास गरी नियमित गरिनेछ ।
जग्गा एकिकरण आयोजना अन्तर्गत कमेरोटारको डेढलक खोलिएको छ । ठेकेदारले कबुल गरे अनुसार काम गरे असारसम्म अधिकांश सडक कालोपत्रे हुनेछ । खानेपानीको लागि १४ लाख लिटरको ट्यांकी निर्माण भइरहेको र उक्त ट्यांकी निर्माण सम्पन्न भएपछि पानीको नियमित स्रोत व्यवस्थापन गरी वितरणको व्यवस्था मिलाईनेछ ।
बोडेको खानेपानी योजनामा थप बोरिङ गरेर दैनिक २ करोड लिटर पानी उत्पादन गर्ने योजना अघि बढाईएको छ । सिन्टिटारको व्यवस्थापन नगरपालिका मातहात आइसकेपछि उपभोक्ता समिति र व्यवस्थापन उपसमितिको बैठक बसी पुर्वाधार निर्माणको कार्य अघि बढाईएको छ ।


दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको पनि व्यवस्थापन उपसमितिको बैठक बसी त्यहाँको पनि डेढलक खोलिएको छ । त्यहाँको पनि पुवार्धार निर्माणको कार्य बढाईएको छ । विगतमा नगरपालिकाले ६ वटा जग्गा एकिकरण आयोजना सञ्चालन गर्ने निर्णय गरेकोमा ती आयोजना सञ्चालनको लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ । यो प्राविधिक अध्ययन २ महिना भित्रमा सम्पन्न गरी कुन कुन ठाउँमा जग्गा एकिकरण आयोजना लागु गर्ने र कुन कुन ठाउँमा सम्भव छैन सो अनुसार आगामी नगरसभाले निर्णय गरी कार्यान्वयन गर्ने योजना छ ।
पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षित गर्न, यहाँका कला सँस्कृति संरक्षण गरी होम स्टेको अवधारणा अघि बढाएका छौं ।
फोहोर मैला व्यवस्थापनका लागि ऐन निर्माण गरिएको, नीजि क्षेत्रसँग सहकार्य र समन्वयमा एक महिनाभित्र ठोस कदम चाल्ने उद्देश्यले कार्य भइरहेको छ । मध्यपुर थिमि सफाई अभियान राजमार्गमा मात्र सिमित नगरी नगरका हरेक सडकमा सञ्चालन गरिने छ ।
ढल निकास र सडक स्त्तोरन्नतीका लागि प्रदेश र संघिय सरकारका निकायसँग समन्वय सहकार्य गरी नगरका सबै सडकमा कालोपत्रे गर्ने योजना अघि बढाईएको छ ।
आर्थिक मन्दीका कारण यसवर्ष बजेट कटौती भएको र सरकारबाट प्राप्त हुनुपर्ने करिव ३५ करोड मध्ये हालसम्म ६ करोड मात्र प्राप्त भएकाले अब थप ५÷६ करोड मात्र आउने अवस्था रहेको छ । यसले आगामी वर्षको बजेट निर्माणमा समेत कठिनाई भइरहेको अवस्था छ ।
आन्तरिक स्रोत बृद्धि गर्नुपर्ने भएकाले व्यवसाय दर्ता अभियान शुरु गरिएको र अभियान अन्तर्गत व्यवसायीहरुले स्वतःस्फुर्तरुपमा नगरपालिकालाई सहयोग गरेको पाईएको छ । नगरपालिकालाई बुझाउनु पर्ने शुल्क अनलाईन मार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि अर्को हप्ताबाट क्युआरकोड लागु गर्ने तयारी पुरा भएको छ ।
खेलकुदतर्फ पहिलो पटक मध्यपुर फुटबल लिग र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । अन्य विविध खेलकुद प्रतियोगिताहरु पनि सञ्चालन भएका छन ।
आवधिक योजना अन्तर्गत नगरका विभिन्न स्थानको पहिरो नियन्त्रण तथा पार्क निर्माण, हात्ति महांकाल पहिरो नियन्त्रण तथा सरसफाई , नगरपालिकाको प्रशासनिक भवन, सानो थिमि एसओएस स्कुल अगाडिको पार्क, विगत धेरै वर्षदेखी निर्माण हुन नसकेको गाँखु निकोशेराको ढल निर्माण, क्षयरोग अस्पताल पछाडिको पार्क निर्माण कार्यलाई अघि बढाएको छ ।
अन्त्यमा नगरपालिकाको २७ औं स्थापना दिवस कार्यक्रमलाई भव्य र सभ्यरुपमा सफल बनाउन उपस्थित हुनुहुने प्रमुख अतिथी, विशेष अतिथी, अतिथीगण, विभिन्न संघसंस्था, सहकारी, विद्यालय, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीय नगरवासीहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । धन्यवाद ! जय नेपाल ! जय मध्यपुर थिमि !
(मध्यपुर थिमि नगरपालिकाको आज २७ औं स्थापना दिवसको अवसरमा बोडेको कुमारी द्यो परिसरमा आयोजित कार्यक्रममा गरिएको सम्बोधनको सम्पादित अंश )