मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख श्रेष्ठमाथि कुटपिट, दोषीलाई कारवाही गर्न नगरपालिकाको माग

भक्तपुर, फागुन १४
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट भएको छ । मध्यपुर थिमि–४ दुईपोखरी टोलमा ढुङ्गा छपाई कार्यको शुभारम्भका लागि आइतवार बिहान सो स्थानमा पुग्नु भएका उपप्रमुख श्रेष्ठमाथि नेकपा एमाले मध्यपुर थिमि नगर सचिव सुमन जोशीलगायतको समूहले कुटपिट गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सो घटनामा संलग्न माथि आवश्यक कारवाही लागि प्रहरीलाई निवेदन समेत दिएको छ । नगरका विकास निर्माणका कार्यमा चित्त नबुझे बहश छलफल गरी समाधान गर्ने उपाय हुँदाहुँदैं कुटपिटमा उत्रिनु गलत भएको बताउँदैं नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज सुवेदीले नगरप्रमुखको आदेशमा घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको जानकारी दिनुभयो ।


नगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा बालकुमारी हात्तिमहांकाल सडक आयोजना अन्तर्गत सो सडकमा ढुंगा छपाईका लागि ७० लाख रुपैंया विनियोजन गरिएको थियो । सो योजना सञ्चालनका लागि गत माघ १९ गते नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको जनप्रतिनिधिको उपस्थितीमा स्थलगतरुपमै बालकुमारी हात्तिमहांकाल सडक उपभोक्ता समिति गठन गरिएको थियो ।
योजना अनुरुपको कार्य सूचारु गर्न उपभोक्ता समितिले निमन्त्रणा गरेअनुसार नगरप्रमुख र उपप्रमुखलगायतका जनप्रतिनिधिहरु आइतवार बिहान कार्यस्थल दुईपोखरी टोल पुग्नुभएको थियो ।
सोही बेला जोशीको समूहले ढुंगा छपाईको कार्य आफ्नो उपभोक्ता समूहले पाउनुपर्ने भन्दै विवाद शुरु गर्दै निर्माण कार्यमा अवरोध गर्न थालेपछि सम्झाई बुझाई गर्ने प्रयास गरिरहेको अवस्थामा एक्कासी जोशीलगायतको समूहले कुटपिट गर्न थालेको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
“नगरप्रमुख, उपभोक्ता समितिका पदाधिकारी, स्थानीयलगायतको उपस्थितिमा ढुंगा छपाइको साइतका लागि दुईपोखरी पुगेका थियौं । जोशीले योजनाबद्ध रुपमै समूहमा आएर आक्रमण ग¥यो,” उपप्रमुख श्रेष्ठले भन्नुभयो । आक्रमणका कारण शरीरको कम्मरको भागमा दुखाई भइरहेको उहाँले बताउनुभयो ।
सो सडकमा गतवर्ष जोशीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले ढुंगा छपाईको कार्य गरेको थियो । नगरपालिकाले यसवर्ष अर्को उपभोक्ता समिति गठन गरी कार्य आरम्भ गरेको विषयमा जोशीले विवाद गर्दै आइरहेको उपप्रमुख श्रेष्ठले बताउनुभयो । “गतवर्ष जोशीकै नेतृत्वमा ढुंगा छपाइको काम शुरु भएको थियो । समयमा काम सम्पन्न गर्न नसकेको, काम गुणस्तरिय नभएको जनगुनासो आएपछि यसवर्ष स्थानीय स्तरमा स्थलगत भेला गरेर अर्को समिति गठन गरेपछि जोशीको समूहले विवाद गर्दै आएका थिए,” उपप्रमुख श्रेष्ठले भन्नुभयो ।


यसैबीच नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले एक विज्ञप्ती जारी गर्दै पार्टीका नगर अध्यक्ष समेत रहनुभएका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट गर्ने समूहलाई कारवाहीको माग गरेको छ । नगरसचिव शिवसुन्दर श्रेष्ठले जारी विज्ञप्तीमा घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न सम्बन्धीत निकायमा जोड माग गरेको हो ।
‘विकास निर्माणको कार्यमा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा यस्ता दुषित मनसाय राखेर घटना घटाउनु खेदजनक छ । नगरप्रमुख र उपप्रमुखको उपस्थितीमा भइरहेको विकास निर्माण कार्यमा यसरी आक्रमण हुनुले सम्पूर्ण विकासप्रेमी नगरवासीहरुको भावनामा ठेस पुगेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।