घरको जग खन्नेक्रममा छिमेकीको पर्खाल लडेर एक मजदुर गम्भिर घाईते

भक्तपुर, फागुन १४
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित खरिकोबोट बासुकी कोलनीमा घर बनाउन जग खन्ने क्रममा छिमेकीको घर कम्पाउण्डको पर्खाल लडेर एक मजदुर गम्भिर घाईते भएका छन ।
काठमाण्डौं महानगरपालिका ३२ नरेफाँट बस्ने ६१ वर्षि तुलसीप्रसाद गौतमको घर बनाउन जग खन्ने क्रममा छिमेकी रामप्रसाद ओलीको पर्खाल एक्कासी लडेर जग खन्दै गरेका सुनसरी बराहक्षेत्र नगरपालिका ४ का करिव २३ वर्षिय मञ्जय विश्वकर्मा पुरिएर गम्भिर घाईते भएका हुन ।


उनलाई प्रहरी, स्थानीय युवा, सशस्त्र प्रहरी र खोज तथा उद्धार टोलीको संयुक्त प्रयासले उद्धार गरी उपचारका लागि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक प्रजित केसीले बताउनुभयो । अचेत अवस्थाका विश्वकर्माको नागरिक अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
अत्यन्त भिरालो जमिनमा घर बनाउन जग खन्ने क्रममा ओलीको घरको उत्तरतर्फको करिव १५ फिट लम्बाई र १५ फिट उचाईको पर्खाल लडेर विश्वकर्मालाई पुरिएको थियो । बिहान करिव सवा ८ बजे भएको घटनामा प्रहरीले स्काभेटर र क्रेनको सहायताले पर्खालको भाग हटाएर घाईतेको करिव ९ बजेर ५५ मिनेटमा उद्धार गर्न सफल भएको घटनास्थलमा पुग्नुभएका प्रहरी वृत्त थिमिमा प्रमुख प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले बताउनुभयो ।