जनयुद्धका शहिद र बेपत्ताका सपना साकार पार्न परिवारको आग्रह

भक्तपुर, फागुन १४
तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा भक्तपुरबाट सहभागी भई शहादत प्राप्त गरेका शहिद र तत्कालीन राज्यसत्ताले बेपत्ता बनाएकाहरुका परिवारले शहिद र बेपत्ताको सपना साकार पार्न आग्रह गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र भक्तपुर नगर कमिटीले शनिवार आयोजित भक्तपुरबाट जनयुद्धमा सहभागी भई शहादत प्राप्त गरेका शहिद र तत्कालीन राज्यसत्ताले बेपत्ता बनाएकाहरुकोसम्मान कार्यक्रममा सहभागी शहिद र बेपत्ता परिवारका सदस्यहरुले देश र जनताको लागि प्राण आहुती दिनेहरुको सपना साकार पार्न आग्रह गरेका हुन ।
उहाँहरुले पार्टीले सम्झना गर्दा मात्र पनि आफूहरुलाई आनन्द आउने प्रतिक्रिया दिनुभयो । सम्मानित शहिद तथा बेपत्ता परिवारले जनताको अधिकत्तम हित हुने काम गर्नु पार्टी नेतृत्वको सरकारको कर्तब्य भएको भन्दै अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड समक्ष सो कुरा पुर्याइदिन नेताहरुलाई आग्रह समेत गर्नुभयो । शहिद र बेपत्ताका सपना साकार पार्न गास, बास, कपास र स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता औल्याउदै सरकारलाई जनतासँग जोड्नपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
सो अवसरमा पार्टीका भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले जनयुद्धकै कारण वर्तमान परिवर्तन सम्भव भएको भन्दै जनयुद्ध देशको गौरवपूर्ण इतिहास भएको प्रष्ट पार्नुभयो । जनयुद्धलाई अपराधीकरण गर्न उद्धत प्रतिगामी तत्वलाई परास्त गर्न क्रान्तिकारीहरु एकतावद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका पार्टीका केन्द्रीय सदस्य डिपी ढकालले यस वर्षबाट जनयुद्ध दिवसलाई बागमती प्रदेश सरकारले मात्र नभई नेपाल सरकारले नै राष्ट्रिय दिवसको रुपमा मनाउन शुरु गरेको स्मरण गर्दै जनयुद्धमा लागेका सबैका लागि यो खुशीको खबर भएको बताउनुभयो ।
जनयुद्धका क्रममा माओवादीलाई छानीछानी मार्ने र मार्न लगाउनेहरु नै अहिले माओवादीलाई ज्यानमाराको आरोप लगाइरहेकाले त्यसबाट बिचलित नबन्न र सहयोद्धाको बलिदानीको ऋण चुक्ता गर्न थप क्रान्तिकारी बन्न ढकालले सहभागीहरुलाई प्रेरित गर्नुभयो ।
पार्टीका जिल्ला संयोजक सुनिल गोठे बासुले भक्तपुर नगर समितिले जनयुद्धका महान शहिद र बेपत्ता परिवारलाई सम्झेर र सम्मान गरेर असल अभ्यास शुरु गरेकोप्रति सन्तोष व्यक्त गर्नभयो ।
पार्टीका केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ, बैकल्पिक केन्द्रीय सदस्य उमा कपाली, जिल्ला सचिव जीवन तजलगायतको सहभागिता रहेको कार्यक्रममा १० परिवारलाई सम्मान गरिएको नगर समितिका अध्यक्ष राकेश सुवालले जानकारी दिनुभयो ।