हिँसाका गतिविधि अन्त्यका लागि समाजको रुपान्तरण आवश्यक – सांसद थापा

भक्तपुर, फागुन १४
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले समाजमा हुने हिँसाका गतिविधि अन्त्यका लागि समाजको रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । बाल तथा युवा सरोकार नेपालले आइतवार आयोजित एसिड आक्रमण तथा अशक्तताका बावजुद सक्षम बालबालिकाहरुको सम्मान कार्यक्रममा सांसद थापाले समाजलाई रुपान्तरण गर्न सके मात्र हिँसाका घटना अन्त्य हुने र समाजमा अशक्तलाई हेर्ने नजर परिवर्तन हुने बताउनुभएको हो ।
उहाँले राज्यले कानुन बनाएर समाजमा हुने हिँसाका घटनालाई नियन्त्रण गर्नुपर्ने बताउँदैं अशक्त सबैलाई सक्षम र सवल बनाउने अभियानका साथ नीति नियम ऐन कानुन बनाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
देशको राजनीतिक क्षेत्र अशक्त बन्दै गएको टिप्पणी गर्दै उहाँले राजनीतिक क्षेत्र सशक्त बनाएर अघि बढ्न सके मात्र मुलुकको कुनैपनि क्षेत्रका आम नागरिकले शारीरिक अशक्तका बावजुद सक्षम र सवल नागरिकको जीवनयापन गर्न सकिने बताउनुभयो ।


उहाँले जन्मँदै कोही शारीरिकरुपमा अशक्त भएता पनि समाजका हरेक नागरिक कुनै न कुनै रुपले अशक्त नै हुने बताउनुभयो । जन्मँदै कोही शारीरिक रुपमा अशक्त जन्मन सक्छ तर हामी कोही राजनीतिक रुपमा अशक्त छौं, सामाजिक अशक्त छौं र मानसिकरुपमा अशक्त छौं ।
उहाँले राज्यले कानुन बनाएर समाजमा एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरुको सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने र उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो ।
एसिड आक्रमणमा परेर र शारीरिकरुपमा अशक्तहरुले संसारमा ठूलो प्रगती गरेको उदाहरण थुप्रै भएको चर्चा गर्दै सांसद थापाले हाम्रो जस्तो सामाजिक परिवेशमा एसिड आक्रमणमा परेर र शारीरिकरुपमा अशक्तहरुले जसरी समाजमा संघर्ष गरिरहेको छ, त्यो अत्यन्त बहादुरीपूर्ण र साहसी कार्य भएकोले सबैले उनीहरुलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा सांसद थापाले एसिड आक्रमणमा परेका जेनी खड्का, मुस्कान खातुन, बसन्ती परियार र पवित्रा कार्कीलाई नगदसहित सम्मान गर्नुभएको थियो । साथै उहाँले प्राकृतिकरुपमा शारीरिक अशक्त भइकन पनि शिक्षा हासिल गरी समाजमा एक सक्षम नागरिकको रुपमा जीवनयापन गर्न संघर्ष गरिरहेका एक दर्जन बालबालिकाहरुलाई सम्मान गर्नुभयो ।
कार्यक्रम एसिड आक्रमणमा परेकी जेनी खड्काले एसिड आक्रमणमा परेकाहरु पिडित नभएको धारणा राख्दै उनीहरुपनि यही समाजमा सक्षम सरह जीवनयापन गरिरहेको बताउनुभयो । उहाँले सार्वजनिकरुपमा एसिड आक्रमणमा परेकाहरुलाई हेर्ने नजर परिवर्तन हुनुपर्नेमा जोड दिँदैं समाजमा दया मायाको भावले गरिने व्यवहारले उनीहरुमा मनोवैज्ञानिक असर पर्ने गरेको बताउनुभयो ।


आयोजक संस्थाका अध्यक्ष प्रमोद पौडेलले एसिड आक्रमणकारीलाई मानवीय संवेदनाहिन आततायी मानिसको संज्ञा दिँदैं उच्च शिक्षा हासिल गर्नुका साथै समाजमा केही गरेर देखाउने अठोटका साथ संघर्षरत एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरुलाई प्रेरणाको स्रोतको रुपमा सम्मान गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापा, सूर्यविनायक नगरपालिका वडा नं. ५ का स्थानीय समाजसेवी राजेश तजलगायतले सुन्दरतालाई बाहिरी आवरणले होइन भित्रि आवरणले मापन गर्नुपर्छ भन्ने उदाहरण एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरु भएको चर्चा गर्नुभयो ।