नेकपा एमालेले मध्यपुर थिमि नगरपालिका घेराउ गर्ने

भक्तपुर, फागुन १५
नेकपा एमाले मध्यपुर थिमि नगर कमिटिले आज नगरपालिका घेराउ गर्ने भएको छ । बालकुमारी हात्तिमहांकाल सडक आयोजना अन्तर्गत नगरको वडा नं. ४ दुई पोखरीमा ढुंगा छाप्ने विषयमा आइतवार भएको झडपको विषयलाई लिएर एमालेले नगरपालिका घेराउ गर्न लागेको हो ।
नगरपालिकाले ७० लाख रुपैंया विनियोजन गरेको सो ढुंगा छाप्ने कार्यको शुभारम्भका लागि आइतवार नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत कार्यस्थल पुग्नुभएको थियो । सो क्रममा नेकपा एमाले मध्यपुर थिमि नगर कमिटिका सचिव समेत रहनुभएका सुमन जोशीको समूहले पहिलेकै उपभोक्ता समितिले काम गर्न पाउनुपर्ने माग राखी कार्य सूचारु नगर्न अवरोध गरेका थिए ।
सो सम्बन्धमा विवाद हुँदा झडप भएको थियो । झडपमा उपप्रमुख विजयकृष्ण श्रेष्ठ र उहाँका स्वकिय सचिव सचिन बज्राचार्यले पदिय जिम्मेवारी विपरित नगरसचिव जोशीलगायतलाई हातपात गरेको र सो घटनालाई घटनास्थलमा उपस्थित भएका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले समेत पदिय मर्यादा भुली प्रमुख प्रशासकिय अधिकृत मार्फत प्रहरीमा उजुरी दिएको भन्दै एमालेले त्यसको विरोधमा नगरपालिका घेराउ गर्न लागेको जनाएको हो ।