हुण्डी कारोबार गरेको आरोपमा कुलेश्वरबाट ५७ लाख रुपैंयासहित एक जना पक्राउ

भक्तपुर, फागुन १०
हुण्डी कारोबार गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले काठमाण्डौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर भई हाल कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता रहेका छन ।
कुलेश्वर एरियामा केहि व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश÷निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा गत फागुन ८ गते गुप्तालाई पक्राउ गरेको हो ।
प्रहरीले गुप्ताको साथबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको ३ थान बैंकको चेक समेत बरामद गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक सोमेन्द्र राठौरले बताउनुभयो ।
अनुसन्धानका क्रममा गुप्ता फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ । साथै गुप्ता यसअघि २०७५ साउन ७ गते भारतीय रुपैया २ लाख र नेपाली रुपैंया ३१ लाखसहित पक्राउ परी राजस्व छली सम्बन्धमा कसुरमा अनुसन्धान गरिएका व्यक्ति भएको खुल्न आएको राठौरले बताउनुभयो ।
प्रहरीले नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम थप अनुसन्धान र कारवाहीका लागि गुप्तालाई जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको राठौरले जानकारी दिनुभयो ।