भक्तपुर सुडालका तीन कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि

भक्तपुर, फागुन १०
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल रातोपाटीस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु देखिएको छ । प्रहरीका अनुसार चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फार्म, आदित्य पोल्टी फार्ममा बर्डफ्लु देखिएको हो ।
पशु सेवा विभागले उल्लेखित फार्मका कुखुरामा बर्डफ्लु पुष्टि गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले जानकारी दिनुभयो । उहाँले बर्डफ्लु संक्रमित कुखुरा, कुखुरा जन्य पदार्थ दाना, अण्डा, चल्ला बुधवार दिउँसो नष्ट गरिएको बताउनुभयो ।
बर्डफ्लु देखिएका फार्मका कुखुरा पशु विभागको चिकित्सक डा.श्रीजा वाग्ले, प्राविधिक आत्माराम शर्मा तथा चाँगुनारायण नपा वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीको उपस्थितिमा नष्ट गरिएको हो । टोलीले सो स्थानका १० हजार ४८० वटा कुखुरा, १ हजार ५० कुखुराका चल्ला, ४ हजार ५२३ वटा अण्डा र १ हजार ४७५ केजी दाना नष्ट गरेको एसपी केसीले बताउनुभयो ।