गेष्ट हाउसको कोठामा युवती अर्धचेत फेला, दुई जना पक्राउ

भक्तपुर, फागुन ११
भक्तपुरको एक गेष्ट हाउसमा फरक क्षमता भएकी एक युवती अर्धचेत अवस्थामा फेला परेको छ । सो घटनामा प्रहरीले बुधवार दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ छालिङस्थित सुनसान गेष्ट हाउसको वाथरुममा हाल नामथर वतन खुल्न नसकेको अन्दाजी २०÷२२ वर्षकी बोल्न नसक्ने युवती बुधवार अर्धचेत अवस्थामा फेला परेको थियो ।
सो घटनामा प्रहरीले गेष्ट हाउस सञ्चालक चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने ४१ वर्षिय राजकुमार गिरी र पिडित युवतीलाई गेष्ट हाउस लगेको अभियोगमा चागुनारायण नगरपालिका ७ बस्ने २४ वर्षिय राज लामिछानेलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गेष्ट हाउसको बाथरुममा युवती अर्धचेत अवस्थामा रहेको जानकारी आएपछि जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक सुदन केसी नेतृत्वको प्रहरी घटनास्थल पुगेको थियो । अनुसन्धानको क्रममा राज लामिछानेले फागुन ९ गते राती करिव १० बजे पिडित युवतीलाई लिएर आएको गेष्ट हाउसमा कोठा लिएर बसेको खुल्न आएको तर गेष्ट हाउस सञ्चालकले परिचय खुल्ने कागजपत्र राखेको नपाईएको परिसरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो ।
घटनापछि फरार भएका लामिछानेलाई गेष्ट हाउस आसपासको सीसी टिभी फुटेजको आधारमा पक्राउ गरिएको हो ।
घटनामा पिडित युवतीलाई प्रहरीले उद्धार गरी भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पिडित माथि जबरजस्ती करणी समेत भएको हुनसक्ने सम्भावना देखिएको जानकारी दिँदैं एसपी केसीले यौनजन्य स्वास्थ्य परीक्षणको लागि पठाएको बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताउनुभयो ।