राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी छ – महासचिव गुरुङ

भक्तपुर, फागुन ११
नेकपा (माओवादी केन्द्र)का महासचिव देब गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउनु पर्ने बताउनुभयो ।
उहाँले राष्ट्रपति सबै दलको साझा व्यक्तिको चयन हुनुपर्नेमा जोड दिँदैं भन्नुभयो, “राष्ट्रपति त्यस्तो ब्यक्ति हुनुपर्यो जो सर्वमान्य, संविधानको रक्षक र मूलुकमा परिवर्तन भएको गणतन्त्रको संरक्षकका साथै राष्ट्रिय स्वाधिनताको रक्षकसँगै सबै दलको साझा व्यक्तिको चयनतर्फ दलहरु एकजुट भएर लाग्नुपर्छ ।”
बढ्दो राजनीतिक अस्वस्थ प्रतिस्पर्धा र दलहरुको निषेधको राजनीतिले निरन्तरता पाए देश अफगानिस्तान र युक्रेन बन्न सक्ने खतरा औंल्याउँदैं उहाँले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउन नसके देश विदेशीको क्रिडास्थल बन्ने तर्फ सचेत पार्नुभयो ।
पछिल्लो समय संविधान अनुरुप शपथ खाने, सरकारमा बस्नेहरुले नै गणतन्त्र समाप्त गर्ने योजना बुन्दै गरेको योजना सार्वजनिक हुन थालेको बताउँदैं उहाँले नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापामा देखाएको हर्कतले के संकेत गर्छ भन्दै प्रति प्रश्न गर्नुभयो ।
रास्वपाका सभापति रवि लामिछानेले अदालतको पूर्णपाठ नआउँदै गृह मन्त्रालय माग्नुले पनि संविधान उल्लंघन गर्ने काम भएको गुरुङको भनाइ थियो । पूर्व राजा ज्ञानेन्द्रले संविधानको उल्लंघन गर्दै वक्तव्यबाजी गरेको भन्दै गुरुङले आलोचना गर्नुभयो ।