ग्रान्डस्लाम सपना बोकेकी अभिलाशा

भक्तपुर, फागुन ९
जस्तै टेनिस खेलाडीले पनि कुनै न कुनै बेला ग्रान्डस्लाम खेलेको सपना त देख्दो हो । नेपाली वुमेन्स टेनिसकी नम्बर १ खेलाडी अभिलाशा विष्ट पनि अपवाद होइनन्, यस्तै सपना देख्निछन् । उनलाई मात्र होइन्, सबैलाई थाहा छ, यो ठूलै सपना पनि हो । फरक के भने भर्खर १९ वर्ष पुगेकी अभिलाशा यसका लागि आजभोलि कठिन मिहिनेत पनि गरिरहेकी छिन् । आजभोलि उनको दिनचर्या पनि यस्तै छ, खालि टेनिस र टेनिस मात्रै ।
विहानै टेनिस, बेलुकै टेनिस, साँझ पनि टेनिस । यति नगर्ने हो भने ग्रान्डस्लाम खेल्ने सपना कहाँ पूरा हुन्छ र अभिलाभा भाग्यमानी पनि छिन्, किनभने उनलाई यो सपनामा साथ दिने परिवार छ । सानेपामा हुर्किबढेकी अभिलाशा र उनको परिवार अचेल थैवमा बस्छन् । उनी र उनका दाई अभिषेक सानैदेखि खेल माहोलमा हुर्के बढे । सेन्ट जेभियर्समा कुनै न कुनै खेल भइरहन्थ्यो । फुच्ची अभिलाशा टेनिसमा आकर्षित भइहालिन ।
उनले खेल्न थालेको पनि हेर्दा हेर्दै १२ वर्ष भइसकेको छ । सफ्टवेयर इन्जिनियरिङको अध्ययन गरिरहेकी अभिलाशाले यसबीच टेनिसको कोर्टमा तय गरेको यात्रा आफैमा निकै लोभलाग्दो छ नै यसमा गर्व पनि उक्तिकै गर्न सकिन्छ । आत्रामक हुँदै बेसलाइनबाट खेल्न रूचाउने अभिलाशा खासमा अलराउन्डर शैलीकी खेलाडी हुन् । नेपाली टेनिसमा उनीसँग जोडिएर धेरै थोक पहिलो पल्ट भएको छ । त्यसैले पनि उनी विशेष छिन् ।
जस्तो, उनी व्यवसायिक टेनिस खेलिरहेकी नेपालकै एक मात्र महिलो खेलाडी हुन् । भर्खर जस्तै हो, उनी प्रो भएकी । अहिलेसम्म वरियता भने प्राप्त गरेकी छैनन् । तर जुनियर छँदा उनी विश्व वरीयताको ४ सय २८ औं स्थानसम्म पुगेकी थिइन् । यति धेरै उचाईमा पुग्ने पनि उनी एक्ली हुन् । पोखरामा भएको पछिल्लो राष्ट्रिय खेलकुदमा पनि उनले चार स्वर्ण जितेकी थिइन, आफू सहभागी भएको सबै स्पर्धामा । त्यो भनेको वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धा ।
यस्तो उपलब्धी चुम्ने पनि उनी नै टेनिसकी पहिलो खेलाडी हुन् । कुराकानीका क्रममा निकै मिजासिला अभिलाशाको खेलको सबैभन्दा ठूलो विशेषता हो, अनुशासन । अहिलेसम्म व्यवसायिक खेलाडी भएयता तीन प्रमुख प्रतियोगितामा भाग लिइसकेकी छिन् र ती हुन्, १५ के डलरका दुई प्रतियोगिता र २५ के डलरको एक प्रतियोगिता । क्ले कोर्टमा खेल्न बढी रूचाउने अभिलाशा यस्तै प्रतियोगिता खेल्दा खेल्दै अंक बटुल्दै शीखरसम्म पुग्न चाहन्छिन् ।
यिनै अभिलाशालाई नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ को पिपुल्स च्वाइस अवार्डका लागि मनोयन गरेको छ । उनीसँगै पाँच खेलाडी छन्, फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी र पौडीकी डुवान लामा रहेका छन् । यो विधामा मनोनयमा पर्ने उनी टेनिसकै पहिलो खेलाडी पनि हुन् । उनी भन्छिन्, ‘सबैभन्दा यसबारे समाचार सुन्दा म निकै खुसी भएँ, अलि कति स्तब्ध पनि ।’
कारण रु अभिलाशाले यत्तिको अपेक्षा पनि गरेकी थिइनन् । उनलाई के लाग्छ भने टेनिसबारे नेपाली खेलकुदमा कमै चर्चा हुन्छ, त्यसैले यस खेलका खेलाडीबारे पनि कर्म मात्र चर्चा हुन्छ । त्यसैले अभिलाशालाई अहिले गर्व पनि लाग्छ । तर यसको अर्थ यो होइन कि नेपाली टेनिसमा कसैले राम्रो गर्छ भने त्यो त्यत्तिकै ओझेलमा परोस । नेपाली खेलकुदले यिनै अभिलाशाबाट धेरै अपेक्षा राख्न सकिन्छ । अनि यस्तै उदयमान खेलाडी त हो, आफूले सक्दो मतदान गरेर जिताउने ।