जर्मन—दक्षिण एसियाली संसदीय समूहद्धारा भक्तपुरको अवलोकन

भक्तपुर, फागुन ९
नेपाल भ्रमणमा रहेको जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरुले मंगलवार भक्तपुर नगरको अवलोकन गरेको छ । टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरु राष्ट्रिय कला संग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरेको हो ।
स्थलगत अवलोकनपछि टोलीले भक्तपुर नगरपालिकाका प्रमुख लगायतका जनप्रतिनिधिहरुसँग विविध विषयमा छलफल गर्नुभएको थियो । छलफलमा प्रमुख प्रजापतिले नेपालको लागि जर्मन सरकारले विगतमा पुर्याएको सहयोगको लागि धन्यवाद दिँदैं भ्रमणले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।


जर्मन प्रोजेक्टले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा सुधार गर्न केही सहयोग पु¥याएको उल्लेख गर्दै उहाँले जर्मनहरुलाई भक्तपुरका जनताले सधैं सम्झिरहने विश्वास दिलाउनुभयो । उहाँले पर्यटन शुल्कको रकम यहाँको मौलिक कला संस्कृति र सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमितामा राखी खर्च गर्दै आइरहेको जानकारी दिनुभयो ।
जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्य रेनेट कुनास्टले जर्मनी र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको जानकारी दिँदै. भक्तपुरको कला संस्कृति र मौलिकता संरक्षणबाट आफूहरु निकै प्रभावित भएको बताउनुभयो ।
नेपालको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक वैभवता नै यहाँका विकासका आधारहरु भएको बताउँदै उहाँले भक्तपुर नपाबाट भइरहेको सम्पदा संरक्षण आफैमा गौरवको विषय हो भन्नुभयो ।


जर्मन सरकारले भक्तपुरको सम्पदा पुनःनिर्माणमा चासोपूर्वक सहयोग गर्दै आइरहेको बताउँदै उहाँले नेपालको परम्परागत कृषि विधिलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको सुझाव दिनुभयो ।
यसअघि टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको समूहले स्वागत गर्नुभएको थियो । टोलीमा जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरू रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायत सहभागी रहेको थियो ।