मानवीय सेवा युवाहरुको भूमिका महत्वपूर्ण

भक्तपुर, फागुन ९
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्वारा आयोजित युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन । सहभागीहरुले युवा रेडक्रस सर्कल क्रियाशील गराउन उपशाखाको महत्वपूर्ण भूमिका रहने भएकोले अभिभावकत्व ग्रहण गरी सहयोग गर्नुपर्ने सुझाव समेत दिएका छन ।
कार्यक्रममा युवा रेडक्रस सर्कल गठन–पुर्नगठन प्रक्रिया र विधिको बारेमा उपशाखाका पूर्वसभापति एवं शिक्षक नायक भुवन चरण श्रेष्ठले प्रशिक्षण दिँदैं युवाहरुको सकारात्मक सोचको विकास, व्यक्तित्व विकास, रचनात्मक क्रियाकलापहरुको लागि युवा रेडक्रस सर्कल अनिवार्य रहेको बताउनुभयो ।
उहाँले मध्यपुर थिमि उपशाखा अन्तर्गत ६ वटा विद्यालयहरुमा युवा रेडक्रस सर्कल र ४ नं. वडामा युवा रेडक्रस सर्कल रहेको जानकारी दिनुभयो ।
सो अवसरमा उपशाखाले अभिभावकत्व ग्रहण गरी उपशाखाको विविध गतिविधि युवा रेडक्रस सर्कल मार्फत सञ्चालन गर्ने र विभिन्न संघ संस्थासँग सहकार्य गर्दै जाने प्रतिवद्धता जनाएको थियो ।
उपशाखा सभापति बाबुकाजी साँछें श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति सविना श्रेष्ठ, युवा रेडक्रस सर्कल उपसमितिका संयोजक अर्जेन श्रेष्ठ, उपशाखाका सचिव जीवन श्रेष्ठ लगायतले युवा रेडक्रस सर्कललाई थप सक्रिय बनाउँदैं समाजका युवाहरुमा मानवीय सेवाभाव जागृत गराउन रेडक्रसले सक्रियता देखाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा निवर्तमान सभापति पूर्णकेशरी श्रेष्ठ, ८ वटा विद्यालयका शिक्षक नायक एवं युवा रेडक्रस सर्कलका अध्यक्षहरुको सहभागिता रहेको थियो ।