अन्तरनगर पुरुष खो–खो प्रतियोगितामा ठाकुरबाबा प्रथम

भक्तपुर, फागुन ९
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । शहिद स्मेति खेल मैदानमा मंगलवार सम्पन्न फाइनलमा ठाकुरबाबाले काठमाण्डौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका तेस्रो भए । प्रतियोगिताको विजेता ठाकुरबाबाले नगद एक लाख ५० हजार रुपैंया, आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरे । उपविजेता किर्तिपुरले नगद एक लाख, उपविजेता ट्रफी, प्रमाणपत्र र मेड प्राप्त गरे भने तेस्रो हुने धनगढीले ५० हजार नगद पुरस्कार पाए । प्रतियोगितामा सहभागी सबै टोली जनही नगद ५÷५ हजारले पुरस्कृत भए ।
प्रतियोगितामा विजयी खेलाडी र टोलीलाई भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पुरस्कार वितरण गर्दै खेलकुद मित्रता, अनुशासन र स्वस्थ बन्नका लागि भएको बताउनुभयो ।
उहाँले खेलकुदको माध्यमबाट अनुशासित नागरिक तयार हुने तथा अनुशासित युवा जनशक्तिले देश विकास गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्दै संविधान संसोधन गरेर भएपछि संविधानमा खेलकुदलाई मौलिक हकमा समावेश गर्नुपर्ने र १८ वर्षभन्दा माथिका हरेक नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने बताउनुभयो ।
सांसद सुवालले खेलाडीहरुले खेलको नियम पालना गरी अनुशासित खेल खलेझैं नेपालको राजनैतिक दलका नेताहरुले पनि राजनीतिक अनुशासन पालना गरे मुलुकको विकास हुने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाको लागि आप्mनो ज्यानको आहुति दिएका महान् शहिदहरुको बलिदानको स्मरणस्वरुप नगरपालिकाले प्रत्येक वर्ष फागुन महिनामा अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँले खो खो खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका सांसद सृजना सैंजुले देशमा व्यवस्था परिवर्तन भएपछि पनि गरिब जनताको जीवनमा खासै परिवर्तनको अनुभूति हुन नसकेको बताउनुभयो । सांसद सैंजुले गरिब जनताको जीवन परिवर्तनको लागि समाजवादी व्यवस्थाको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशी, किर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्य, वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, खेलकुद समितिका सदस्य रामसुन्दर बासीलगायतले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खो खो खेलको महत्व स्थापित गर्न सक्नुका साथै खेलको प्रवद्र्धन समेत हुने बताउनुभयो ।
गत फागुन ५ गतेदेखी शुरु प्रतियोगितामा १३ नगरपालिकाका १४ टोलीको सहभागिता रहेको थियो ।