भक्तपुर कांग्रेसका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी ठकुरीको निधन

भक्तपुर, फागुन ९
नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको निधन भएको छ । लामो समयदेखी अस्वस्थ ठकुरीको ९८ वर्षको उमेरमा मंगलवार नीज निवासमा निधन भएको हो ।
बालकोटको किसान परिवारमा जन्मिएका ठकुरीले जनतालाई शिक्षा लिन अभिप्रेरित गर्दै आउनुभयो । सोही कारण उहाँलाई तत्कालिन राणा शासकले पटक पटक त्यसो नगर्न धम्की दिई मानसिक यातना दिएको थियो ।
उहाँ २००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी भई प्रजातन्त्र स्थापनामा सक्रिय हुनुभयो । २००७ मा प्रजातन्त्र स्थापनापछि शिक्षण संस्था स्थापना गरी जनतालाई शिक्षाको उज्यालो प्रदान गर्न अग्रसर हुनुभएको थियो ।
ठकुरीले नेपाली कांग्रेसले शुरु गरेको भूमिसुधार अभियानमा सहभागी भई किसान आन्दोलनमा नेत्तृवदायी भूमिका खेल्नुभयो ।
राजा महेन्द्रले २०१७ साल पौष १ गते तत्कालिन जननिर्वाचित सरकारलाई अपदस्त गरी प्रजातन्त्रको हरण गरेको विरोधमा प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलनमा होमिएका ठकुरी फर्पिङबाट काठमाण्डौं आउने बिजुलीको लाइन काट्ने अभियानमा संलग्न हुनुभयो । सोही कारण उहाँले ८ वर्ष निर्वासनमा बिताउनुभयो ।
ठकुरीले २०३६ सालको जनमत संग्रह र २०४२ को सत्याहग्रमा प्रजातन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । २०४२ सालको सत्याग्रहमा कान्छा छोरा सुनिल ठकुरी र भाई कृष्णबहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरी कारागान चलान गरेपछि उहाँ केही समय भूमिगत हुनुभयो ।
ठकुरी नेपाली कांग्रेसको ८ औं महाधिवेशनका लागि सम्पन्न जिल्ला अधिवेशनले सर्वसम्मत जिल्ला सभापति बन्नुभयो । उहाँको कार्यकाललाई भक्तपुर कांग्रेसको इतिहासमा सबैभन्दा बढी सफल कार्यकाल मानिन्छ ।
स्व. ठकुरीको जन्म १९८२ कार्तिकमा पिता रणबहादुर ठकुरी र माता वेद कुमारी ठकुरीको कोखबाट भएको हो । उहाँको चार छोरा र दुई छोरीहरु छन । स्व. ठकुरीको आजै हिन्दु धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
यसैबीच नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ठकुरीको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । ईन्यूज अफ सँग संक्षिप्त कुराकानी गर्दै थापाले ठकुरीको निधनले भक्तपुर कांग्रेसले एक सच्चा अभिभावक गुमाएको बताउनुभयो । “पार्टीलाई सधै मार्गनिर्देशन गरिरहनु हुने ठकुरीको निधन पार्टीको लागि अपुरणीय क्षती हो,” उहाँले भन्नुभयो ।