प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री हुने परिस्थिति बन्न सक्छ – महामन्त्री शर्मा

९ फागुन, सुर्खेत । नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति चुनावपछि सत्ता समीकरण बदलिने बताएका छन् । सुर्खेत आइपुगेका बेला उनले कांग्रेसको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने र प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री बन्ने परिस्थिति बन्न सक्ने बताए । प्रस्तुत छ महामन्त्री शर्मासँग गरिएको कुराकानी :

हिजो दिउँसो वीरेन्द्रनगरमा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार, उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाएर जान सकिने बताउनुभयो बेलुका उपसभापति खड्काकै घरमा खाना खानुभयाे यो विषयमा केही कुराकानी भयो

उहाँको जिल्लामा आएको बेला स्नेहपूर्वक घरमा खाना खान निम्त्याउनुभएको थियो । हिजो त्यहाँ अन्य थुप्रै साथीहरु भएकाले कुरा हुन पाएन । त्यसबारे उपसभापतिज्यूको भनाइ के हो भने, सभापतिज्यूको अहिले नै राष्ट्रपति बन्ने रुची छैन, अहिले नै सक्रिय राजनीतिबाट बहिरिन्छु भन्ने सोच्नुभएको छैन । तपाईले भनेको विकल्प अगाडि बढ्ने सम्भावना म देख्दिन भन्नुभयो ।

देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाएर पार्टी राजनीतिबाट किनारा लगाउन खोज्नुभएको हो या तपाईंले नै भन्ने गरेको  जस्तो उहाँको सम्मानजनक बहिर्गमन होस् भन्ने चाहनुभएको हो ?

उहाँले सभापतिको रुपमा पार्टी चलाइरहनुुभएकै छ । पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो । अस्ति प्रधानमन्त्री कांग्रेसले गुमाउनु हुँदैनथ्यो । अथवा प्रचण्डलाई बनाउँदै गर्दा काँग्रेस सहितको गठबन्धन काययम रहनुपर्थ्यो भन्ने हामी सबैको ध्येय हो । त्यहाँ हामी केही चुक्यौं । हाम्रो असावधानी भयो । अब कसैलाई दोष लगाएर पुग्दैन ।

त्यसबेला मेरो कुरा के थियो भने सभापतिज्यूले गर्नुभएका कयौं राम्रा कामहरु ओझेलमा परेका छन् । त्यसैले उहाँको सम्मानजनक बहिर्गमन होस् भनेको थिएँ । त्यो बेला उहाँ दलको नेता बन्नतिर नलागेको भए त्याग गर्नुभयो भन्ने इतिहास लेखाउने अवसर थियो । तर त्यसो हुन सकेन । अब फेरि उहाँलाई त्यो अवसर जुरेको छ । उहाँ राष्ट्रपति बन्नुभयो भने त्याग र प्राप्ति दुईवटै अवसर छ । सक्रिय राजनीति त्याग्नु, त्याग हो । राष्ट्रपति बन्नु प्राप्ति हो ।

त्यसो भए कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को हो ?

चार/पाँच जना नेता आकांक्षी हुनुहुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले म बन्दा उपयूक्त हुन्छ भन्नुभएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला एउटा प्रबल उम्मेदवारको रुपमा हुनुहुन्छ । त्यस्तै गोपालमान श्रेष्ठ हिजो पार्टीको कार्यबाहक सभापति भइसकेको व्यक्ति हुनुहुन्छ । प्रध्यापन क्षेत्रबाट आउनुभएको मानबहादुर विश्वकर्मा पनि हुनुहन्छ ।

यसमा प्रचण्डसँग कुन रुपमा समझदारी हुन्छ भन्ने कुराले अर्थ राख्छ । हामी धेरै हदसम्म विश्वस्त छौ, कांग्रेस–माओवादीको नयाँ समीकरण बन्छ । हामीले गत चुनावमा मिलेरै भोट मागेका थियौं ।

प्रचण्डले प्रधानमन्त्रीको सपथ लिदै गर्दा गोरखामा रुख चिह्नधारीले भोट दिएको कुरा बिर्सिनुभएको छैन । झापा–१ मा माओवादीले विश्वप्रकाशलाई भोट दिएको मैले पनि बिर्सिएको छैन । हामी राष्ट्रपतिमा समझदारीमा आयौं भने प्राकृतिक देखिन्छ । जो चुनावका बेला गरिएको बचनवद्धता पनि हो ।

प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बन्ने बेला तपाईंहरु दुबै जना महामन्त्री उपत्यका बाहिर हुनुहुन्थ्यो गठबन्धन तोडिनुको दोषजति तपाईहरुले सभापतिलाई दिनुभयो फेरि राष्ट्रपतिको चुनाव नजिकिएको तपाईहरु उपत्यकाबाहिर हुनुहन्छ यो संयोग मात्रै हो कि, जिम्मेवारीबाट पन्छिन खोज्नुभएको हो ?

काठमाडौंबाट यहाँ आउनुअघि यो विषयमा हामी छलफलमै थियौं । १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । ११/१२ गते विश्वप्रकाश सुर्खेततिर, झापातिर भेटियो भने त्यो बेला म आफ्नो जिम्मेवारीबाट बाहिरिएको हुन्छ । तर हामीले १० गते पछाडिनै मात्रै यो विषयमा छलफल गर्ने सहमति गरेका छौं ।

११ गते हाम्रो कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ । एकजना सभापतिको थाप्लोमा हालेर उम्किन खोजिएको होइन । यसमा सफलता मिल्यो भने श्रेय सभापतिलाई नै जान्छ । गुम्यो भने दोष हामी सबै लिन्छौं । यो पटक हामी सबै एक ढिक्का भएर उभिएका छौं ।

तपाईले अगाडि नाम लिएका आकांक्षीमध्ये राष्ट्रपतिको उम्मेदवारमा महामन्त्रीद्वयको समर्थन कसलाई रहन्छ ?

हामीले सभामुख र उपसभामुखको उम्मेदवार उठायौं । निर्णय गर्ने वैधानिक संरचनामा सभापति, दुईजना महामन्त्री र प्रमुख सचेतक रमेश लेखक हुनुहुन्थो । संसदीय दल कार्यसमितिको चारजनाको टिमले नै सभामुख र उपसभामुख कसलाई उठाउने भनेर माइन्युट गरेका थियौं । राष्ट्रपतिको विषयमा केन्द्रिय कार्यसम्पादन कार्यसमितिको बैठकले निर्णय गर्छ । मैले भनेका ४ जना उम्मेदवारमध्ये फलानो भनी नहालौ । हामी सबै एक ढिक्का छौं । पार्टीभित्र सबैको सहमतिबाट उम्मेदवार उठाउँछौं ।

कांग्रेस राष्ट्रपतिकै लागि सत्तारुढ गठबन्धन टुटाउन तयार देखियो तर एमालेले उठाएको व्यक्तिलाई राष्ट्रपतिको रुपमा स्वीकार्न तयार देखिएन किन नि ?

एमालेले उठाएको व्यक्तिलाई राष्ट्रपतिमा स्वीकार्नु भनेको अघिल्लो पटक भएका गल्तीहरुको निरन्तरता जस्तै हो । विगतको अनुभवमा गल्ती गरेका छौं भने त्यसलाई निरन्तरता दिने कि त्यो भन्दा भिन्न भएर जाने भन्ने प्रश्न हो ।

हामीले राष्ट्रपति उहाँको (एमालेको) बनाइदिनुपर्छ भन्ने पनि हुन्छ र ? यदि त्यसो गरियो भने हामी अघिल्लो गल्तीबाट सिकिरहेका हुँदैनौं, त्यही गल्ती दोहोर्‍याउने व्यवस्था मिलाइदिएका हुन्छौं । त्यसकारण पनि कांग्रेसले उम्मेदवारी दिन्छ ।

अर्को कुरा ४ मंसिरको जनमत अनुसार सबैभन्दा ठूलो दल त कांग्रेस हो नि । कहीँ सवधानी पुगेन होला, हाम्रा बीचमा गठबन्धनलाई जोगाएर जानलाई कांग्रेस र माओवादीबीच उच्चतम परिपक्वता पुगेन होला । तर कांग्रेस–माओवादी सहितको सरकार बन्नुपर्ने थियो, त्यही नै जनमतको वैधानिकता हो । संसदको सबैभन्दा ठूलो दलको प्रधानमन्त्री नहुने, सभामुख नहुने र राष्ट्रपति पनि नहुने हो भने त्यो जनमतले न्याय पाउँदैन ।

राष्ट्रपतिमा कांग्रेसको राष्ट्रपति निर्वाचित गराउन माओवादीसँग कस्तो समझदारी हुन्छ ? एमालेसँग प्रचण्डले आधाआधा कार्यकाल प्रधानमन्त्रीको सहमति गरेको सार्वजनिक भएको कांग्रेस वर्ष नै प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुन्छ ?

यसबारे हामीले संस्थागत रुपमा निर्णय गरेका छैनौं । परिस्थिति जे पनि बन्न सक्छ । तर हामी माओवादीलाई एउटै कुरा भन्छौ, हिजो सहकार्य गरेर चुनावमा गएका हौं । कारणवश सहकार्य टुट्यो होला एक अर्कालाई दोष नलगाऔं । सम्भव भएसम्म हिजोको सहकार्यलाई पुनः निरन्तरता दिऔं । कसैका विरुद्ध हिजो मिलेर चुनाव लड्ने अनि उसैसंग मिलेर सरकार बनाउने कुरा व्यवहारिक छैन । चुनावी गठबन्धन ब्यूतियो भने त्यो गठबन्धन नै बढी लोकतान्त्रिक र वैधानिक हुन्छ ।

राष्ट्रपति चुनावमा कांग्रेस माओवादी मिल्दा दुईवटा परिस्थिति बन्न सक्छ । एउटा राष्ट्रपति कांग्रेसको बन्ने वा कांग्रेसको राष्ट्रपति बनेर पनि एमाले–माओवादीको गठबन्धन कायमै रहने ।

अर्को भनेको यो गठबन्धन टुट्न पनि सक्छ । त्यो सम्भावना कुन रुपमा विकास हुन्छ, सोही अनुसार प्रचण्डले कति समय नेतृत्व गर्नुहुन्छ भन्ने निर्धारण हुन्छ । प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री बन्नसक्ने परिस्थिति पनि आउन सक्छ । अहिलेसम्म कुनैपनि प्रधानमन्त्री ५ वर्ष लगातार हुनुहुन्नथ्यो । कथाले माग्यो भने त्यो सम्भव पनि छ ।

कांग्रेसको राष्ट्रपति बन्दा पनि अहिलेको सत्तारुढ गठबन्धन रहिरहन सम्भव ?

सत्ता गठबन्धन त सरकार बनाउनका लागि हो । राष्ट्रपति भनेको सरकार चलाउने होइन, देशको अभिभावक बन्ने कुरा हो । कुन दलको राष्ट्रपति बन्दा संविधानको पालनामा गाम्भीर्यता हुनसक्ला भन्ने हो । एमालेले प्रस्ताव गरेको अघिल्लो राष्ट्रपति जो बन्नु भयो । उहाँले संसदले दोहोर्‍याएर पारित गरेर पठाएको नागरिकता विधेयक रोक्नुभयो ।दुई दुई पटक संसद विघठन गर्ने प्रधानमन्त्रीलाई सघाउनुभयो । धारण ७६ (५) बमोजिम कसैले बहुमत लिएर जाँदा अस्वीकार गर्नुभयो । त्यसैले पनि काँग्रेसको राष्ट्रपति नै उचित हुन्छ भन्ने हाम्रो ठहर हो ।

अर्को कुरा कांग्रेसले प्रस्ताव गरेको राष्ट्रपतिको जरुरी प्रधानमन्त्री स्वयंमलाई छ । सभामुख एमालेको, महत्वपूर्ण मन्त्रालयहरु गृह, अर्थ, कानुन, परराष्ट्रलगायतका मन्त्रालयहरु अरुकै हातमा छ । भनेपछि प्रधानमन्त्रीसंग हुने चाहिँ के हो ? नेपाली सेना रहने रक्षा मन्त्रालय अरुको हातमा छ । भएको राष्ट्रपति पनि एमालेको हातमा पारिदिने, दुई वर्षपछि प्रधानमन्त्री पनि छोडिदिने, त्यसपछि के गर्ने ? काम गर्दै गर्दा प्रधानमन्त्री कमजोर बन्नु हुदैन । प्रधानमन्त्रीलाई पिँजडामा राख्ने खालको अवस्था जुन बनाइएको छ । त्यसलाई भत्काउने कर्तव्य हाम्रो भन्दा बढी प्रधानमन्त्रीकै हो ।

देशको संविघानले दिएको पावर प्रधानमन्त्रीको टेबलमा हुनुपर्छ । बालुवाटारको पावर बालकोटमा हुन थाल्यो भने त्यो संविधान बमोजिम सार्थक र सुन्दर हुँदैन ।

राष्ट्रपति एउटा संवैधानिक पदका लागि दलहरुबीच यत्रो लुछाचुँडी किन ?

अघिल्लो राष्ट्रपतिले संवैधानिक सेरोमोनियल भूमिका निर्वाह गर्नुभयो कि सक्रिय भूमिका निर्वाह गर्नुभयो भन्ने कारणले यो बहस जन्मिएको हो । राष्ट्रपति सेरोमोनियल पद भए पनि विगतमा त्यो रहेन त्यसैले सेरोमोनियल भूमिकामै फर्काएर ल्याउनका लागि अहिले यत्रो बहसको विषय बनेको हो ।

देशको प्रधानमन्त्री राष्ट्रपति बन्दै गर्दा छिमेकी देशको सक्रियता किन बढ्छ यसलाई कसरी लिनुभएको ?

यो संयोग पनि हुनसक्छ । अर्को कुरा हामी के गछौं भन्ने कुरामा प्रष्ट भएपछि कुनैपनि देश र देशका प्रतिनिधिहरुले सुवेक्षा राख्ने कुरा रहिरन्छ नै । जस्तो नेपालको संविधान ०७२ असोज ३ गते जारी हुने बेलामा हामीले सुनेको, थाहा पाएकै हो कि बाह्य दबाव तत्काल जारी गर्नुहुन्न भन्ने थियो भन्ने । तर हामीले संविद्यान जारी गर्‍यौं ।

यसमा राजनीतिक नेतृत्व सचेत हुनुपर्छ बाहिरबाट हुने भेटघाटलाई भेटघाटमै र सुभेच्छालाई सुभेच्छामै राखौं । बाह्य देशसंग सम्बन्ध राम्रो बनाऔं तर हाम्रो आन्तरिक मामिलामा हस्ताक्षेप गर्न कसैलाई नदिउँ । त्यो नेतृत्वमै भर पर्छ । ढोका हामीले राम्रोसंग लगाउन सकेनौं भने अरुले धकेल्छ ।

राष्ट्रपतिको निर्वाचनपछि राष्ट्रिय राजनीतिको परिदृश्य कस्तो देख्नुहुन्छ ?

२५ फागुनपछिको बाटो सकारात्मक नै जान्छ भन्ने लाग्छ । नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेमा देशले ढुक्क माने हुन्छ । त्यसरी बन्ने राष्ट्रपतिले कांग्रेसको चिन्ता गर्नुहुन्न, देशको चिन्ता गर्नुहुन्छ । संंविधान र प्रणालीको चिन्ता गर्नुहुनेछ । मुलुकको अभिभावक बन्नुहुनेछ ।

तर फेरि संघीय सरकारमा नयाँ समीकरण बन्ने, प्रदेश सरकारहरु ढल्ने, राजनीतिक अस्थिरता फेरि देखिने नागरिकमा वितृष्णा आउने होइन ?

चुनाव अगाडि जो जो जहाँ उभिएर गएका थियौं । आगामी ५ वर्ष त्यसमा इमान्दार भएर भएर जाऔं न कुरा मिलिहाल्छ । कांग्रेस–एमाले दुवै त्यसैमा इमान्दार बनौं । एमालेलाई चुनाव अगाडि त प्रचण्ड चाहिएको थिएन । अहिले किन चाहियो ? हामीलाई त चुनाव अगाडि पनि चाहिएको थियो ।

चुनावमा जाँदा १५/२० वर्षका लागि संगै जान्छौं, देशलाई स्थिरता र विकास दिन्छौं भनेर भोट ट्रान्सफर गराउने अनि चुनाव सकिएपछि अरुसंग मिलेर सरकार बनाउने भन्ने पनि हुन्छ र ? अस्थितरताको सुरुवात त त्यहीँबाट भएको हो नि । हामी त त्यो कोर्स करेक्सन गरौं भनिरहेका छौं । हामीले घोषणा पत्रमा विगतबाट पाठ सिक्दै ५ वर्षस्थिर सरकार दिन्छौ भन्ने प्रतिवद्धता नै गरेका छौं त ।

जे नहुनु थियो, त्यो भइसक्यो नि अब फेरि सरकार बनाउने ढाल्ने खेलमा किन लाग्ने ?

अघिल्लो पटक दुई तिहाईको आकार लिएर जितेको एमाले–माओवादीले राम्रोसँग ५ वर्ष सरकार चलाइदिएको भए हुन्थ्यो नि । त्यो बेला हामी त चुपचाप बसेकै त हो । त्यो बेला जे द्वन्द्व भयो त्यसको असर अहिलेसम्म परेको छ । त्यसको परकम्प अहिले पनि छ । त्यस्सै कारण सरकार ढलिरहने, भत्किरहने र निराश बनाउने क्रम चलेको छ । त्यसलाई रोक्दै अब यो भन्दा तल जान नदिऔं भन्ने कांग्रेसको चाहना हो ।

राष्ट्रपतिको चुनावमा नयाँ साना दलको भूमिका कस्तो देख्नुहुन्छ ?

हरेक सांसदको मतको महत्व छ । उहाँहरुको गोप्य मतदानको कुरा हो । यहाँनिर उभिदा उचित हुन्छ भनेर सम्बन्धित दलले निर्णय गर्छ । निर्णयमा पुग्दै गर्दा उहाँहरुले विगतको पाँच वर्ष र अस्थिरताको बिजारोपन राम्रोसंग नियाल्नुपर्छ । पाँच वर्षमा एउटै प्रदेशमा तीनवटा मुख्यमन्त्री बन्ने स्थिति आयो ।

त्यसो हुनुमा तत्कालिन राष्ट्रपतिको गार्जियनसिप खोज्नुपर्छ कि पर्दैन ? संसद विघटन बारबार नभएको भए यस्तो अवस्था त आउने थिएन र त्यसैले कस्तो राष्ट्रपति बनाउने भन्ने मुख्य कुरा हो । त्यसैले सबै पार्टीले एकपटक सोच्नैपर्छ ।

एमालेले पछिल्लो समय माधवकुमार नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको समाचारहरु आएका छन्, एमालेले सर्वस्वीकार्य व्यक्ति राष्ट्रपतिमा उठायो भने कांग्रेसले के गर्छ ?

अहिलेसम्म नेपाली कांग्रेस आफनो उम्मेदवारी दिएर अगाडि जाने भन्ने मै छ । अहिले त्यो खालको विकसित अवस्था बनिसकेको पनि छैन । माधव कमरेडले गएको निर्वाचनमा हामी एक ठाउँमा उभिएको विषय प्रथम र प्रधान छ भन्दै आउनुभएको छ । हाम्रो सहकार्य पनि भइरहेको छ । मलाई लाग्दैन कि त्यस्तो कुनै नयाँ प्रकारको खेल होला । यदि त्यसो भइहाले पनि टिप्पणी गर्न हतार नगरौं ।

अनलाइनखबर लागि यत्र खत्रीले लिनुभएको अन्तरवार्ता