थिमि कमेरोटारका २१ सय धारामा पानी वितरण शुरु

भक्तपुर, माघ ११
मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको कमेरोटार जग्गा एकिकरण आयोजना क्षेत्रका करिव २ हजार एक सय धारामा बुधवारदेखी पानी वितरण शुरु गरिएको छ । आयोजना र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले संयुक्त रुपमा उक्त क्षेत्रमा खानेपानी वितरण शुरु गरिएको हो ।
आयोजनाको करिव एक हजार ४५० रोपनी क्षेत्रको करिव २२ सय कित्ता मध्ये हाल २१ सय कित्तामा धाराका लाइन जडानको कार्य सकिएको जानकारी दिदैं आयोजना प्रमुख ईं. सत्यनारायण शाहले आयोजना क्षेत्रभित्र करिव ३ हजार धारा वितरण गर्ने योजना रहेको बताउनुभयो ।
आयोजना क्षेत्रका घर र घर निर्माण नभएको प्लटमा समेत आयोजनाले धाराको पाइपलाइन बिस्तार गरि सकिएको ईं शाहले बताउनुभयो । उहाँले भविष्यमा घर निर्माण गर्दा सडक खन्न नपर्ने गरी अहिले नै खाली जग्गामा समेत धाराको पाइप लाइन बिस्तार गरिएको जानकारी दिनुभयो ।

पानी वितरण शुभारम्भ गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवम् आयोजनाको व्यवस्थापन उपसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले पानी वितरणको शुभारम्भसँगै नियमित आपुर्तीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उपत्यकाको खानेपानीको विकल्पको रुपमा रहेको मेलम्चीले नियमित पार्नी आपुर्ती गर्नेमा शंका व्यक्त गर्दै मध्यपुर थिमिमा भएको पानीको स्रोत परिचालन गरी यहाँ पार्नीको नियमित आपुर्तीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । आयोजना क्षेत्रभित्र करिव ३० लाख लिटर क्षमताको ट्यांकी निर्माण र एउटा डिप बोरिङ गरी पार्नीको स्रोत व्यवस्थापन गर्ने योजना रहेको जानकारी दिँदैं उहाँले आयोजनाको कार्य छिटो छरिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।


उहाँले विगतमा आयोजनासँग पैसा नभएर काम हुन नसकेको र अहिले पैसा भएर पनि विविध कारण काम हुन नसकिरहेको बताउँदैं आयोजना क्षेत्र भित्रको सडक कालोपत्रे, ढल व्यवस्थापन र खानेपानीको बिस्तारको लागि ठेक्का लिएको निर्माण कम्पनीले यही महिना बाँकी काम शुरु नगरे उसको ठेक्का रद्ध गरी धरौटी जफत गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा आयोजना उपभोक्ता समितिका संयोजक एवम् नगरपालिकाका पुर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठले उपत्यकाको अत्यन्त सुन्दर स्थानमा रहेको कमेरोटार क्षेत्रलाई व्यवस्थित शहरीकरण गर्ने उद्देश्यले सञ्चालन भएको आयोजनामा विगतमा अनेक खालका व्यवधान, कानुनी झमेला लगायतका समस्याका कारण आयोजनाको काममा ढिलाई भएको बताउनुभयो ।
उहाँले आम उपभोक्ताको भावना अनुरुप छिटो आयोजना सम्पन्न गर्न समिति र आयोजना तल्लिन भएको प्रतिवद्धता व्यक्त गर्दै आयोजनाको काममा आम उपभोक्ताको पनि उत्तिकै साथ सहयोग र सहकार्यको खाँचो औंल्याउनुभयो ।