नेकमा सकियो एनईडीसीको दोश्रो संस्करण

भक्तपुर, माघ ११
नेपाल इन्जिनियरिङ डिबेट च्याम्पियनसिप (एनईडीसी) को दोस्रो संस्करण भक्तपुरमा सम्पन्न भएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित क्लब सेन्टर फर अप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) ले कार्यक्रमको आयोजना गरेको हो ।
एनईडीसी एशियाली तथा अस्ट्रेलियाली संसदीय ढाँचामा गराइने वादविवाद प्रतियोगिता हो । प्रतियोगितामा दुई टोलीहरू हुन्छन् जसमा १ टोलीले सत्तापक्षको दायित्व निभाउँछन र अर्को टोलीले प्रतिपक्षको । एउटा टोलीमा अध्यक्ष, उपाध्यक्ष र सचेतक गरी ३ जना हुन्छन् ।
एनईडिसीको दोस्रो संस्करण पौष २१ देखि सुरुवात भएको थियो । यस दिन ८ वटा टोली निर्माण भए र आठै टोलीहरुलाई वादविवादका विषयहरु प्रदान गरियो । यस सत्रमा सम्पूर्ण टोलीहरूले संसदीय ढाँचा कस्तो हुन्छ भन्नेबारे जानकारी पाए र नियमहरु बुझे । दुई हप्ताको तयारी समयका पश्चात माघ ५ गते अभ्यास सत्र राखियो । यसदिन निश्चित गराइएका सत्तापक्ष र प्रतिपक्ष टोलीहरूले सम्बन्धित विषयलाई लिएर एकअर्कासँग वादविवादको अभ्यास गरे । माघ ६ गतेका दिन क्वार्टर फाईनल राउण्ड भयो जहाँ प्रतियोगिता पश्चात आठवटा टोलीबाट सर्वोत्कृष्ट ४ टोली प्रि–फाइनलस् पुग्न सफल भए । निर्णायक मण्डलमा नेपाल इन्जिनियरिङ कलेजका सहायक प्राध्यापक दयासागर निरौला साथै कार्डका पूर्व कार्यक्रम संयोजक आशुतोष मणी त्रिपाठी थिए ।


फाइनल कार्यक्रममा निर्णायक मण्डलका रुपमा सहप्राध्यापक गणेशप्रसाद अधिकारी, सहायक प्राध्यापक दयासागर निरौला तथा जुनियर प्राध्यापक यमकृष्ण पौडेल रहेका थिए । प्रि–फाइनल राउण्डमा सहभागी ४ टोलीले दुईवटा विषयमा वादविवाद गरे । पहिलो विषय ‘अवसरका लागि ईन्जिनियरहरु विदेशिनु पर्ने आवश्यकता छैन’ भन्ने थियो । त्यसैगरी दोस्रो विषय ‘एमसीसी नेपालका लागि उपयुक्त व्यवस्था होइन’ भन्ने रहेको थियो । ‘अवसरका लागि ईन्जिनियरहरु विदेशिनु पर्ने आवश्यकता छैन’ भन्ने शीर्षकमा भएको वादविवादमा निर्णायक मण्डलले सत्तापक्षको टोलीलाई विजेता घोषित गरे । त्यसैगरी ‘एमसीसी नेपालका लागि उपयुक्त व्यवस्था होइन’भन्ने विषयमा प्रतिपक्षको टोलीले विजयको स्वाद चाखे ।
निर्णयसंगै फाइनल राउण्डका लागि दुईवटा टोली चयन हुन सफल भएका थिए । पहिलो टोलीका सदस्यहरुमा सुवास खनाल, किरण लिम्बु र आशिष तिमल्सिना रहेका थिए भने दोस्रो टोलीका सदस्यहरुमा सुदिसना खड्का, आयुषा कार्की र सचिता पुडासैनी रहेका थिए । फाइनल राउण्डको शीर्षक ‘आर्टिफिसियल इन्टेलिजेन्स मानव सभ्यताका लागि खतरनाक छ’ भन्ने थियो । यस वादविवादमा दोस्रो टोलीले सत्तापक्षको जिम्मेवारी निर्वाह गर्दै थियो भने पहिलो टोलीले प्रतिपक्ष भएर बोलेका थिए । निर्णयले उक्त विषयका प्रतिपक्षमा बोल्ने टोलीलाई विजयी घोषित गरायो अर्थात् विजयी टोलीमा सुवास खनाल, किरण लिम्बु र आशिष तिमिल्सिना पर्न सफल भए । उपविजेता टोलीमा सुदिसना खड्का, आयुषा कार्की र सचिता पुडासैनी पर्न सफल भए ।
विजेता तथा उपविजेता टोलीलाई सम्मानसाथ पदक, ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरियो । सर्वश्रेष्ठ वक्ताको उपाधि सचिता पुडासैनीले प्राप्त गर्न सफल भएकी थिइन् । उनलाई पदकका साथ निर्णायक मण्डलतर्फका सहप्राध्यापक गणेशप्रसाद अधिकारीले सम्मान गरे । यसैगरी आयोजक समितिको मेहनतलाई कदर गर्दै निर्णायक मण्डलतर्फकै सहायक प्राध्यापक दयासागर निरौलाद्वारा सम्पूर्ण आयोजक समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरियो । निर्णायक मण्डलतर्फकै जुनियर प्राध्यापक यमकृष्ण पौडेलद्वारा सम्पूर्ण सहभागी टोलीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरियो । कार्डकी अध्यक्ष सुश्री समी सुवेदीले उपस्थित सम्पुर्णलाई धन्यवाद दिइन् ।
आयोजक क्लबले डिबेट च्याम्पियनसिप सँगसँगै अन्य थुप्रै कार्यक्रमहरु पनि गर्ने गरेको छन् । जिज्ञासु, हेरिटेज वाक, रिसर्च वाक, हाइकिङ, पिकनिक, आदि जस्ता कार्यक्रमहरू कार्डले गर्ने गर्दछन् । क्लबको मुख्य उद्देश्य इन्जिनियरहरुमा भएको, प्राविधिक ज्ञानसँगै सफ्ट स्किलको पनि विकास गर्नु रहेको जनाइएको छ ।