मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक ७ औं नगरसभा बैठक सम्पन्न, विभिन्न प्रस्ताव पारित

भक्तपुर, माघ १०
मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक ७ औं नगरसभा बैठक विभिन्न प्रस्ताव पारित गरी सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिकाले स्थापनाकालदेखी पहिलो पटक हिउँदे अधिवेशन नगरसभाको बैठक सम्पन्न गरेको हो ।
बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यक्रम संशोधन गर्नुका साथै विभिन्न विधेयक, कार्यविधि पारित गरेको छ । साथै आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि आय व्ययको प्रक्षेपण पारित गरेको नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले बताउनुभयो ।
बैठकले मध्यपुर थिमि नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ को दोस्रो संशोधन, बस्ती विकास तथा जग्गा एकिकरण ऐन, २०७७ (पहिलो संशोधन) विधेयक, मध्यपुर थिमि नगरपालिकाको फोहोर मैला व्यवस्थापन विधेयक २०७९, न्यायिक समिति (कार्यविधि) सम्बन्धी विधेयक, २०७९ पारित गरेको छ ।


यसैगरी भैपरी तथा नगरपालिकाको आर्थिक सहायता तथा औ्रषधोपचार कार्यविधि, २०७९ बमोजिम खर्च तथा कार्यक्रम एवम् नगरपालिकाले तयार गर्ने आयोजना विस्तृत प्रतिवेदन (डिपिआर) तयारी, सभाबाट कार्यक्रम नतोकिएका र एकमुष्ट बजेट विनियोजन भएका शिर्षकको कार्यक्रम स्वीकृत गर्ने अधिकार नगरप्रमुखलाई दिने निर्णय बैठकले गरेको प्रवक्ता आचार्यले बताउनुभयो ।
बैठकले विभिन्न समितिहरु समेत गठन गरेको छ । जसअनुसार वडा नं. ६ का वडा सदस्य तुल्सीराम प्रजापतिको संयोजकत्वमा वडा नं. ५ का वडासदस्य राजभाई प्रजापति र वडा नंं २ का वडा सदस्य सरिता अर्याल सदस्य रहेको विधायन समिति गठन गरेको छ ।
त्यसैगरी वडा न ९ का वडा सदस्य उमेश ख्याजुको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । सो समितिमा वडा नं. ४ का वडा सदस्य मदनकृष्ण श्रेष्ठ र वडा नं. ६ का वडा सदस्य अरुणा कारञ्जित सदस्य रहनुभएको छ ।
बैठकले वडा नं. ९ का वडा सदस्य रञ्जन कार्कीको संयोजकत्वमा वडा नं. ८ का वडा सदस्य सुरेन्द्र था श्रेष्ठ र वडा नं. १ का वडा सदस्य रिमा परियार सदस्य रहेको विकास तथा सुशासन समिति गठन गरेको प्रवक्ता आचार्यले बताउनुभयो ।