यु–१९ विश्वकप छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने

भक्तपुर, माघ ९
आगामी महिना संयुक्त अरब ईमिरेट्स (युएई)मा हुने आइसिसी विश्वकप यु–१९ छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल फागुन १२ (फेब्रुअरी २४) मा सिंगापुरसँग खेल्ने जनाएको हो ।
नेपालले दोस्रो खेल फागुन १३ (फेब्रुअरी २५) कुवतेसँग खेल्नेछ । नेपालले त्यसपछि एकदिन विश्राम गर्नेछ । फागुन १५ (फेब्रुअरी२७) मा हङकङसँग खेल्नेछ । फागुन १६(फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ । अन्तिम खेल फागुन १८(मार्च २) मा युएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।
नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहन सके २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ । नेपाली टोली २०१६ पछि पहिलो पटक यु–१९ विश्वकप खेल्ने तयारीमा हुनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा छन् ।
यसैबीच क्यानले आइसिसी विश्वकप यु–१९ छनोट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणमा रहेका २८ जनाबाट १८ जना हुँदै १४ जनाको नाम सार्वजनिक गरेको हो ।
टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी, दिपक बोहरा र मिलन बोहरा छन । अन्तिम १४ सदस्यीय टोली घोषणा गरेपनि कप्तान भने टुङ्गो लगाउन सकेको छैन ।

क्यानले घोषणा गरेको अन्तिम टोलीमा ८ खेलाडी पहिलो पटक यु–१९ नेपाली टोलीमा परेका छन् । सिनियर टोलीबाट खेलि सकेका देव खनाल, गुलशन झासँगै युवा ब्याटर अर्जुन कुमाल, स्पिनर दीपेश कँडेल, विशाल विक्रम केसी र दुर्गेश गुप्ताले यसअघि नेपाली यु–१९ टोलीबाट खेलेका खेलाडी हुन् ।