क्रिकेटर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

भक्तपुर, माघ ९
नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई सोमवार पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले नेपाल टि–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । खेलको दौरानमा आदिलले फ्ँयालेको एक नो बल चर्चामा रहँदै आएको थियो । आदिलले फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरमा फ्याँलेको नो बलले उनीमाथि शंका उत्पन्न गराएको थियो ।
आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमान छ । आलमले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ । सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए ।
त्रिवि क्रिकेट मैदानमा गत पुस ९ देखि २७ सम्म चलेको नेपाल टी–२० ‘म्याच फिक्सिङ’ भएको चर्चा चलेको थियो । सो चर्चापछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । सो निर्देशन पछि प्रहरी प्रधान कार्यालयले सिआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो । सिआईबीले अनुसन्धान सुरु भएपछि म्याच फिक्सिङको प्रयास विफल भएको थियो ।
पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पष्ट फिक्सिङ’ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराइएको उनले बताएका थिए ।
सिआईबीको प्रारम्भिक अनुसन्धान अनुसार तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ । बेटिङ र फिक्सिङमा नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत मिलेको सीआईबी उच्चश्रोतले जनाएको छ ।