मध्यपुर थिमि नगरपालिकाको ७ औं नगरसभा बैठक शुरु

भक्तपुर, माघ ८
मध्यपुर थिमि नगरपालिकाको ७ औं नगरसभा बैठक आइतवार शुरु भएको छ । सभामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा एवम् वक्तव्य प्रस्तुत गर्दै चालु आर्थिक वर्ष विनियोजित योजना सञ्चालनका लागि १३२ वटा उपभोक्ता समिति दर्ता भइसकेको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष १७२ वटा योजना सञ्चालनका लागि बजेट विनियोजन भएकोमा नगरस्तरीय योजना सञ्चालनका लागि ४३ वटा उपभोक्ता समिति दर्ता भएकोमा २० वटा सम्झौता भई कार्यान्वयन भइरहेको र एक वटा सम्पन्न भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । त्यस्तै वडास्तरीय योजना सञ्चालनका लागि ९१ वटा उपभोक्ता समिति दर्ता भएकोमा ६० वटा सम्झौता भएको र ३ वटा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी नगरप्रमुख श्रेष्ठले नगरपालिकालाई नीति नियमसंगत सञ्चालन गर्न ६ वटा कार्यविधि निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ता समिति मार्फत सार्वजनिक निर्माण सम्बन्धी कार्यविधि २०७९, मौलिक नामाकरण सम्बन्धी कार्यविधि २०७९, लैङ्गिक हिँसा निवारण कोष कार्यविधि २०७९, नेपाल कोरिया मैत्री आपत्कालिन कोष सञ्चालन कार्यविधि २०७९, ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ र अनुदान तथा औषधो उपचार कार्यविधि २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याईएको छ ।
यस्तै नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको जमिनलाई भूउपयोग नीति अनुसार ७ क्षेत्रमा विभाजन गरिएको जानकारी दिनुभयो । उहाँले नगर क्षेत्रका जमिनलाई आवसिय क्षेत्रमा ७१.८५ प्रतिशत, सार्वजनिक उपयोगतर्फ २०.६५ प्रतिशत, व्यवसायिक तर्फ ३.४७, नदी, खोला, ताल तथा सिमसार तर्फ २.२६ प्रतिशत, वनतर्फ १.६५ प्रतिशत, औद्योगिक तर्फ ०.०९ र साँस्कृतिक तथा पुरातात्विकतर्फ ०.०४ प्रतिशत कायम गरिएको बताउनुभयो ।


उहाँले स्वास्थ्यतर्फ ६० देखी ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा शुरु गरिएको, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मिर्गौलाको डायलासिस शुरु गरिएको र आगामी बैशाख १ गतेदेखी सि टी स्क्यान शुरु गर्ने तयारी भइरहेको, स्वास्थ्य स्वयम् सेविकाले गरेको योगदान स्वरुप सम्मानका लागि स्वेच्छिक अवकाश लिने स्वयम्सेविकालाई एक लाख रुपैंया दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यसैगरी सभामा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले अर्धवार्षिक आय व्यय विवरण तथा आ.व. २०८०÷०८१ को आय प्रक्षेपण पेश गर्दै चालु आर्थिक वर्षमा आन्तरिक स्रोत तर्फ गत वर्षको मौज्दात ४४ करोड र आन्तरिक राजश्व संकलनबाट ३३ करोड ५ लाख ६५ हजार समेत गरी ७७ करोड ५ लाख ६५ हजार राजश्व प्रक्षेपण गरिएकोमा पौष मसान्तसम्ममा ६३ करोड ५६ लाख ८२ हजार ६१३ रुपैंया आम्दानी भएको जानकारी दिनुभयो ।
यस्तै चालु खर्च तर्फ ६४ करोड २० लाख १९ हजार ८ सय खर्च गर्ने लक्ष्य राखिएकोमा पौष मसान्तसम्ममा १९ करोड ६५ लाख ६५ हजार २२५ रुपैंया खर्च भएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
यस्तै सभामा उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विजयकृष्ण श्रेष्ठले समितिको प्रतिवेदन पेश गर्दै समितिमा आएका गुनासो एवम् निवेदनहरु मध्ये सहकारी संस्था सम्बन्धी गुनासो र निवेदन जटिल रुपमा देखा परेको बताउनुभयो । उहाँले मध्यपुर थिमिमा स्थानीय जनताको कपरव २५ करोड रुपैंया सहकारीहरुले फिर्ता नदिएको गुनासो आएको जानकारी दिनुभयो ।
नगरउपप्रमुख श्रेष्ठले निलबाराही हाउजिङ कम्पनीले मिति २०६३ बैशाख १८ गते तत्कालिन नगर विकास प्राधिकरण भक्तपुरबाट अनुमति लिई गरिएको जग्गा विकास योजनामा अनियमितता देखिएको बताउँदैं सार्वजनिक खुल्ला ठाउँको रुपमा छुट्याएको जग्गा समेत बिक्रि वितरण गरिएको र नगरपालिकाबाट समेत नक्सा पास भई घर निर्माणको चरणमा रहेकोले छानविन भइरहेको जानकारी दिनुभयो ।
उहाँले संविधानले निर्दिष्ट गरेको अधिकार स्थानीय सरकारलाई प्राप्त नहुँदा कतिपय विषय कार्यान्वयनमा समस्या देखिएको बताउँदैं भन्नुभयो, “न्यायिक समितिमा पनि दफा ४७ को १ को (ड) मा संघिय सरकार तथा प्रदेश सरकारबाट स्थानियतर्फबाट निरुपण हुने विवाद भनी उल्लेख गरिएको छ, तर ति विवाद तथा अधिकार के के हो भनी स्पष्ट नहुँदा कार्यान्वयनमा समस्या भइरहेको छ ।”
सभामा मध्यपुर थिमि नगरपालिकाको बस्ती विकास तथा जग्गा एकिकरण ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०७९ समेत पेश भएको छ । सभामा पेश भएका प्रतिवेदन र विधेयकहरु माथि नगरसभामा छलफल गराईने र छलफलमा उठेको प्रश्नहरुको निरुपण पछि निर्णयार्थ पेश गरी पारित गरिने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।