राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान

भक्तपुर, पौष ३
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको जनाउँदैं राष्ट्रपति भण्डारीले नेपालको संविधान २०७२ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा धेरै दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि यही पौष १० गते आइतवार साँझ ५ बजेसम्म दावी पेश गर्न आह्वान गर्नुभएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९ मंसिर २९ गते पेश हुन आएको प्रतिवेदनमा प्रधानमन्त्री नियक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।