विश्वकप फुटबलमा तेस्रो भयो क्रोएसिया

भक्तपुर, पौष ३
क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो भएको छ । खलिफा रंगशालामा शनिवार राती सम्पन्न खेलमा क्रोएसिया मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै तेस्रो भएको हो । मोरक्कोले भने हारसँगैं चौंथो स्थानमा चित्त बुझाएको छ ।
रोमान्चक खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेल सम्भव तीनै गोल पहिलो हापमा भएको थियो । दोस्रो हापमा आक्रमक खेल प्रस्तुत गरेपनि दुवै टोलीले थप गोल निकाल्न सकेन ।


खेलको सातौं मिनेटमा नै क्रोएसियाले अग्रता लिए । जोस्कोले हेडमार्फत गोल गर्दै क्रोएसियालाई अगाडि बढाएका थिए । उनले फ्रिकिकमा इभान पेरिसिचले दिएको हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।
तर क्रोएसियाको खुसी धेरै बेर टिक्न सकेन । मोरक्कोले गोल खाएको २ मिनेट पछि नै गोल फर्काउँदैं खेल बराबरीमा ल्याए । अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोल गरे ।


त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए । मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरेका थिए । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।


सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो ।
कतार विश्वकपको उपाधिका लागि भने फ्रान्स र अर्जेन्टिनाबीच आइतवार राती प्रतिस्पर्धा हुनेछ ।