फिफा क्लब विश्वकप फुटबलमा ३२ टोली

भक्तपुर, पौष २
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नयाँ प्रतियोगिता फिफा विश्वकप क्लव फुटबल प्रतियोगिताको घोषणा गरेको छ । एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको फाइनल अघिको पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ३२ टोलीको सहभागिता रहने गरी फिफाको नयाँ कार्यक्रम क्लब विश्वकपको घोषणा गरेको हो ।
हरेक चार चार वर्षमा आयोजना हुने क्लव विश्वकप सन् २०२५ बाट शुरु हुनेछ । यद्यपी फिफाको उक्त कदमको युरोपका ठुला क्लबले विरोध गरेका छन । उनीहरुको अस्वीकारका बीच फिफाले नयाँ क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको हो ।
फिफाले यसअघि नै यो कार्यक्रमको तय गरेपनि २०१९ को अन्त्यतिरबाट चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण यो कार्यक्रम स्थगित भएको थियो ।
फिफाले अहिले सात महादेशका उत्कृष्ट ७ टिमलाई सहभागी बनाएर क्लब विश्वकपको आयोजना गर्दै आइरहेको छ । उनले यसलाई छलफलबाट टुंगो लगाउने र यो क्लब विश्वकप कुनैपनि हालतमा हुने बताए । ‘प्रतियोगितामा विश्वका उत्कृष्ट टिमलाई प्रतियोगितामा आमन्त्रित गरिनेछ’ उनले भने ।
यस्तै फिफाले महिला श्विकपमा समेत ३२ टिम सहभागी गराउने बारे समेत तयारी गरिरहेको बताए । फिफाको क्लब विश्वकपको पछिल्लो उपाधि इंग्लिस क्लब चेल्सीले जितेको थियो । अध्यक्ष इन्फान्टिनोले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी समेत गरेका छन् ।