वनएक्स बेटमार्फत विश्वकपमा सट्टाबाजी गरेको आरोपमा भक्तपुरका दुई युवक पक्राउ

भक्तपुर, पौष ३
कतारमा जारी फिफा विश्वकप फुटबलका खेलहरुमा बेटिङ एप्लीकेशन वनएक्स बेट प्रयोग गरी अनलाइनमार्फत सट्टाबाजी लगाउन संलग्न भएको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने ३१ वर्षिय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका ८ आदर्शटोल बस्ने २५ वर्षिय अजय भेले छन । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी परिसर भक्तपुरलाई बुझाएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरुले वनएक्स बेट मा सट्टाबाजी गराउन विगत एक वर्ष देखी सट्टाबाजी गर्ने एजेन्टको रुपमा कार्य गर्न थालेको अनुसन्धानको क्रममा खुल्न आएको छ । सुनिलको विभिन्न २३ वटा बैंकमा रहेको २५वटा खाताहरुको कारोवारको विवरण माग गरिएकोमा हालसम्म ७ वटाको मात्र प्राप्त भएको र ती बैंक खाताबाट सुनिलले विगत एक वर्षमा २ करोड ४५ लाख ७१ हजार ८९९ रुपैंयाको कारोवार भएको पाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
त्यस्तै अजय भेलेको विभिन्न १९ वटा बैंक खाताको कारोवार माग गरिएकोमा हालसम्म ५ वटा खाताको विवरण प्राप्त भएको र ती खातामा ६० लाख रुपैंया भन्दा बढी रकमको कारोवार भएको पाईएको एसपी कोइरालाले जानकारी दिनुभयो । वनएक्स बेट हुने गरेको कारोवार र क्रिष्टो करेन्सीको कारोवार समेत एक आपसमा अन्तरसम्बन्धित रहेको देखिएको छ ।