चुनाव हार्ने निश्चित भएपछि नेकपा एमाले गाली गलौजमा उत्रेको कांग्रेसको ठहर

भक्तपुर, मंसिर १
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा एमाले विपक्षी उम्मेदवार र दल प्रति तल्लो स्तरको गाली गलौज र आरोपमा उत्रिएको छ । आफ्ना नजिकको अनलाईन न्यूज र्पोटल मार्फत नेकपा एमाले विपक्षी उम्मेदवार दल प्रति तल्लो स्तरको गाली गलौज र आरोपमा उत्रिएको हो ।
नेकपा एमालेबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको मुखपत्रको रुपमा रहेको एक अनलाइन मार्फत एमाले गाली गलौज जस्तो तल्लो स्तरको राजनीतिमा उत्रिएको नेपाली कांग्रेसले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।
भक्तपुरमा तेब्बर मतान्तरले जित्ने दावी गर्दै आएका बस्नेत चुनाव हार्ने निश्चित भएपछि कांग्रेस र उसका उम्मेदवारको चरित्र हत्यामा उत्रेको कांग्रेसको ठहर छ ।
विगतमा भक्तपुर अस्पतालका मेसु मार्फत अस्पताल निर्माणमा भइरहेको कार्यबाट खाइरहेको कमिशन बन्द भएको, हनुमन्ते करिडोरका नाममा भएको अनियमितता सार्वजनिक भएको, नेपाल इन्जिनियरिङ कलेज आफ्नो स्वार्थ अनुरुप सञ्चालन गर्न नपाएको, गुण्डुमा यातायात कार्यालय निर्माणमा कमिशन खान नपाएको, विगतमा आफुले गरेको वाचा अनुसार जनतालाई खानेपानी उपलब्ध गराउन नसकेको कारण जनताबाट तिरस्कृत हुने अवस्था आएपछि नेकपा एमाले र महेश बस्नेत कांग्रेसमाथि दोष थोपारेर पानी माथिको ओभानो बन्न खोजेको कांग्रेसको ठहर रहेको छ ।
पहिला आफ्ना आसेपासेलाई सस्तो दरमा जग्गा किन्न लगाउने त्यसपछि बजेटको व्यवस्थापन नभई विर अस्पताल निर्माणको योजना राख्ने र सोही कारण देखाउँदैं महँगोमा जग्गा बिक्रि गरी खाएको कमिशनका कारण अफ्ठ्यारो स्थिती उत्पन्न भएपछि त्यसबाट जोगिन एमालेले कांग्रेसले विर अस्पताल बन्न नदिएको भनी भ्रम सिर्जना गर्न खोजेको विज्ञप्तीमा जनाएको छ ।
यसैगरी पहिला हनुमन्ते खोलाको धार परिवर्तन गर्न नदिने पक्षमा आन्दोलन गर्ने र धार परिवर्तन गर्नेलाई भूमाफियाको संज्ञा दिएका महेश बस्नेत आफैं नेतृत्व गरी हनुमन्ते करिडोरका नाममा खोला सार्ने कार्यको नेतृत्व गरेर भूमाफियाको नाईके प्रमाणित भएको तथ्यलाई धाकछोप गर्न एमाले गाली गलौज जस्तो तल्लो स्तरको राजनीतिमा ओर्लिएको कांग्रेसले दावी गरेको छ ।
कांग्रेस नेतृत्वको सरकारले भक्तपुरका कुनै पनि योजनाको बजेट कटौती नगरेको, स्थानीय तहमा आफ्नै दलको नेतृत्वसहित बहुमत भएको तथ्यलाई बंग्याएर भक्तपुरमा योजना काटेको, उपभोक्ता समितिमा दलका कार्यकर्ता पोसेको भन्नु कतिको साँचो हो, जनता स्वयम्ले प्रष्टसँग बुझेको कांग्रेसको ठहर रहेको विज्ञप्तीमा उल्लेख छ ।
कांग्रेसमा पछिल्लो पटक देखिएको अभुतपुर्व सहकार्य र एकताबाट त्रसित भएर कतै कांग्रेसमा विग्रह ल्याउन सकिन्छ र चुनाव जित्न सकिन्छ की भन्ने हार मानसिकताको उपज लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई उम्मेदवारको टिकट खरिद बिक्री गरेर विद्युतीय गाडी र जग्गा उपहार लिएको भनी भ्रम सिर्जना गर्न खोजेको कांग्रेसको ठहर छ । थापा विभिन्न पेशा व्यवसायमा संलग्न भएको आफ्नै पौरखको कमाईले त्यस्ता गाडी किन्ने हैसियत भएको सबैमा जगजाहेर रहेको कांग्रेसले जनाएको छ ।
यसैगरी अस्पताल जस्तो पवित्र व्यवसाय गरी भक्तपुरलगायत छिमेकी जिल्लाबासीलाई समेत सरल, सहज र सुपथ मूल्यमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको तथ्यलाई बंग्याएर नेकपा एमाले र उसका उम्मेदवार महेश बस्नेत भ्रमको राजनीतिमा उत्रेको ठहर कांग्रेसको छ ।
आसन्न मंसिर ४ गतेको निर्वाचनमा पराजित हुने निश्चित भएपछि विगतमा सांसद अपहरण, आफ्नै सहकर्मीका पत्नीसँगको अनैतिक सम्बन्ध, गुण्डागर्दीलगायतका कार्यमा नाम जोडिएको घटनालाई धाकछोप गरी विपक्षी उम्मेदवारको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा अनेक लाञ्छना लगाउने कार्यमा एमाले र महेश बस्नेत लागि परेको बताउँदैं कांग्रेसले त्यस्ता तल्लो स्तरको गैरराजनीतिक क्रियाकलापमा उत्रेका दल र तीनका उम्मेदवारको विपक्षमा मतदान गरी मंसिर ४ गते आफ्नो अमूल्य मत मार्फत गतिलो जवाफ दिन कांग्रेसले आम मतदातालाई आग्रह गरेको छ ।