आगलागी पिडितलाई मध्यपुर थिमि नगरपालिकाले एक लाख रुपैंया दिने

भक्तपुर, कार्तिक ३०
मध्यपुर थिमि नगरपालिका–६ राईटोल, माथिल्लो कुण्डोलका आगलागी पिडितलाई नगरपालिकाले एक लाख रुपैंया राहत दिने भएको छ । साथै नगरपालिकाले घाईतेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था गर्ने भएको छ ।
कुण्डोलका स्थानीय ४९ वर्षिय आत्माराम के.सी र ४१ वर्षिय हरिशरण के.सी को तीन तल्ले कच्ची घरमा आज (बुधवार) विहान आगलागी हुँदा एक जनाको मृत्यु भएको थियो भने एक जना घाईते भएका थिए । मृत्यु हुनेमा सुस्त मनस्थिति र पक्षघात पिडित २५ वर्षिय छोरी अस्मिता के.सीको मृत्यु भएको हो । घटनामा हरिशरण के.सीको १४ वर्षिय छोरी नित्मा घाईते भएका थिए । उनको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ ।
आगलागी लगत्तै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले घटनास्थलको अवलोकन गर्नुभएको थियो । घटनास्थलको अवलोकनपछि एक विज्ञप्ती जारी गर्दै उहाँले घटनामा दुःख व्यक्त गर्नुका साथै पिडितलाई एक लाख रुपैंया राहत उपलब्ध गराउने जानकारी दिनुभएको हो ।