अञ्जनको गोलमा नेपालको जित

भक्तपुर, कार्तिक ३०
अञ्जन बिष्टको एक मात्र गोलको मद्दतले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा आज (बुधवार) साँझ सम्पन्न खेलमा अञ्जनले खेलको ८३ औं मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।
अञ्जनले सुनिल बलको क्रस पासमा गोल गरेका हुन । यो उनको ११ औं अन्तराष्ट्रिय गोल हो । यससँगै उनले हरि खड्काको किर्तिमान बराबरी गरेका छन । नेपालका लागि सर्वाधिक गोल निराजन रायमाझीले गरेका छन् । उनले अन्तराष्ट्रिय खेलमा नेपालका लागि १३ गोल गरेका छन् ।


यसअघि खेलको पहिलो मिनेटमै फरवार्ड विमल घर्तीमगरले सुवर्ण अवसर खेर फालेका थिए । उनले ढिला प्रहार गर्दा गोलबाट बञ्चित भएका थिए । त्यस्तै ११औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले पनि अग्रता लिने अवसर पाएका थिए । एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिएर नेपालको संकट टारेका थिए ।
पाकिस्तान विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको प्रतिवन्ध हटेसँगै करिव साढे तीन वर्ष मैदान फर्किएको हो ।
नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितीमा रोहित चन्दले नेपाली टोलीको कप्तानी सम्हालेका थिए । उनको कप्तानमा डेब्यू खेल हो । खेलबाट मिडफिल्डर आभास लामिछानेले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । उनले खेलको ५८औँ मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यू गरे । स्पेनमा फुटबल खेल्ने उनी यसै खेलका लागि नेपाल आएका हुन् । उनी सशस्त्र प्रहरीको फुटबल क्लबमा आबद्ध छन् ।