युएई विरुद्ध नेपालको उत्कृष्ट जित

भक्तपुर, कार्तिक ३०
युएई विरुद्धको दोस्रो एकदिवसिय खेलमा नेपालले उत्कृष्ट जित निकालेको छ । व्याटिङमा खराव शुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो एकदिवसियमा युएई विरुद्ध उत्कृष्ट जित निकालेको हो ।
जितसँगै नेपालले त्नि खेलको सिरिजमा बराबरी गरेको छ । यसअघि सोमवार सम्पन्न पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।
जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ विकेटको क्षतीमा पुरा गरेको हो । नेपालको जितमा आरिफ शेखले अविजित ५८ बलमा ३ चौकासहित ३३ रन बनाए । सोमपाल कामी १६ बलमा २ चौकासहित १६ रनमा अविजित रहे । सोमपालले लङअनमा चौका हान्दै नेपाललाई जित दिलाए ।
गुलशन झा ४९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । गुलशनको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । एक समय २९.१ ओभरमा १०६–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागी गुलशन झा र आरिफ शेखले ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।


कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल २६, दीपेन्द्र सिंह ऐरी १३, कप्तान रोहित पौडेल ८, आशिफ शेख ६ र अर्जुन साउदले शुन्यमा आउट भए । युएईका रोहन मुस्तफाले ३, हजरत बिलालले २ र बसिल हामिदले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाए ।
एक समय ७२–० को बलियो स्थितीमा रहेको युएईको पहिलो विकेट दीपेन्द्रसिंह ऐरीले लिए । दिपेन्द्रको विकेटसँगैं आक्रामक सुरुवात गर्दै विशाल योगफल तर्फ लम्किएको युएईलाई मध्यम योगफलमा रोक्न सफल भएको थियो ।
नेपालका लागि दोस्रो विकेट पनि दिपेन्द्रले लिए । उनले सोमपाल कामीबाट २५ रन बनाएका वृत्य डीपलाई मिडविकेटमा समातिए ।
स्पिनर ललित राजवंशीको १५ औं ओभरको अन्तिम बलमा वासिमलाई आउट गर्दै ओडिआई करिअरको पहिलो विकेट लिए । टियु एण्डबाट आएका ललितको बलमा वासिम फस्ट स्लिपमा आरिफ शेखबाट समातिन पुगे ।
सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । लेग स्पिनर कुशल भुर्तेलको २४ औं ओभरको पहिलो बलमा कप्तान सिपी रिजवान एक्स्ट्रा कभरमा रोहित पौडेलबाट २२ रनमा क्याच आउट भए । कुशल भुर्तेलको पनि यो ओडिआई करिअरको पहिलो विकेट हो । ड्रिङ्स ब्रेकपछिको पहिलो बलमै करण केसीले विष्णु सुकुमारन विकेटकिपर आसिफ शेखबाट १५ रनमा क्याच आउट भए ।
उनले ३९ बलमा १ चौका हाने । गुलशन झाको बलमा एलिशान शराफु प्वाइन्टमा दिपेन्द्रसिंहबाट ३५ रनमा क्याच आउट भए । शराफुले ४३ बलमा ३ चौका हाने । बासिल हामिद २६ बलमा १ चौका र २ छक्कासहित २४ रनमा सोमपालको बलमा बोल्ड भए । आयन खान २, जहुर खान शून्य, सबिर अली ७ रनमा आउट भए ।
नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए ।