पर्यटक बोक्ने बसको ठक्करले ७२ वर्षिया बृद्धाको मृत्यु

भक्तपुर, असोज ६
पर्यटक बोक्ने बसले ठक्कर दिँदाँ भक्तपुर नगरपालिका–१, दुधपाटी बस्ने ७२ वर्षिया दिलमाया श्रेष्ठको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८, सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातीतर्फ जाँदैं गरेको बा. १ प. १५५१ नं. को पर्यटक बोक्ने बसले पैदलयात्री श्रेष्ठलाई बिहिवार बिहान ठक्कर दिँदा गम्भिर घाईते भएको थियो । उनलाई तत्काल उपचारका लागि डा. इवामुरा अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीले बस र बसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –१, घर भई हाल काठमाण्डौ बालाजु बस्ने २९ वर्षिय बिनोद कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।