कपन आगलागीमा तीनको मृत्यु, ललितपुरमा तीन घाईते

भक्तपुर, असोज ६
काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका–१०, कपनमा बुधवार राती भएको आगलागीको घटनामा तीन जनाको मृत्यु भएको छ । कपनको राममन्दिर नजिकै रहेको एक ट्रेकिङ सम्बन्धी कार्यालयमा भएको आगलागी तीन जनाको मृत्यु भएको हो । स्थानीय टंक घिसिङको तीन तल्ले घरमा रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा अक्सिजन सिलिण्डर पड्किएर आगलागी भएको हो ।
आगलागीमा परेर मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । आगलागी मध्यराती नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिनुभयो । प्रहरीले घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गर्न सफल भएको थियो ।


काठमाण्डौं, भक्तपुर, ललितपुरको दमकल, प्रहरी, सेना, सशस्त्र प्रहरी बल र स्थानीयको संयुक्त प्रयासमा करिव ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । मृतकका शब त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।
यसैगरी ललितपुरको एक कवाडी गोदाममा आगलागी हुँदा तीन जन घाईते भएका छन । प्रकाश खत्रीको जग्गा भाडामा लिएर बच्चा साहले सञ्चालन गरेको कागजको कवाडी गोदाममा विद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
घटनामा भारतीय नागरिक ६५ वर्षिय शिवनारायण पोदार, ४५ वर्षिय रामआषिश साह र चितवनका ३० वर्षिय गणेश गुरुङ घाईते भएका छन । पोदारको अवस्था गम्भिर भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सुधीरराज शाहीले बताउनुभयो । घाईते तिनै जनाको ललितपुरस्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।