ङातापोल्हँ मन्दिरको ३२१ औं बुसाँदा मनाईयो

भक्तपुर, असार १६
भक्तपुरको विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको ३२१ औं वर्षबन्धन पुजा गरी बिहिवार बुसादाँ मनाईएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँ मन्दिरको बुसादाँ मनाइने परम्परालाई निरन्तरता दिँदै वर्षबन्धन पुजा गरिएको हो । पुजासँगै मन्दिरको गजुरमा नयाँ पतचाः (झण्डा) समेत फहराएको छ ।
ङातापोल्ल्हँ मन्दिर नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले निर्माण गर्न लगाएको हो । मन्दिरमा रहेको अभिलेखमा मन्दिर निर्माण पुरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पुजा गरेको उल्लेख छ ।
मन्दिरको सरसफाइ र मर्मतसम्भार गर्ने उद्देश्यले राजा भूपतिन्द्र मल्लले प्रत्येक वर्ष मन्दिर निर्माण पुरा भएको दिन वर्षबन्धन पुजाको परम्परा बसाएको संस्कृतिविद् ओमप्रसाद धौभडेलले बताउनुभयो । सोही परम्पराअनुसार प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन ङातापोल्हँको वर्षबन्धन पुजा नियमित रुपमा चल्दै आएको छ ।
बुसाँदामा भक्तपुर तलेजुका जोशी, कर्माचार्य, राजोपाध्याय र ताल्चाभँडेल जातका पुजारीहरुले तान्त्रिक विधिअनुसार ङातापोल्हँ मन्दिरभित्र रहेकी सिद्धिलक्ष्मी देवीको विधिपूर्वक पुजा गरेका थिए । पुजा पछि सबै पुजारीहरुले समेबजी खाई पतचाःलाई भक्तपुर तुछिमलाका अवाल समुदायलाई हस्तान्तरण गरेका थिए । अवालहरुले ङातापोल्हँ मन्दिरको गजुरमा पतचाः फहराएका थिए ।
पतचाः फहराउन करिव एक दर्जन अवालहरु मन्दिरमाथि चढेका थिए । मन्दिरमा पतचाः फहराइनका लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिर माथि प्रवेश नदिने परम्परा रहि आएको छ । पतचाः फहराउन चार जना गजुरको चार कुनामा बसेर बाँधेका थिए । करिव ३० फिट लामो हाँगासहितको बाँसमा ६६ ईन्च लम्वाई र ४४ ईन्च चौडाईको कपडाको पतचाः फहराइएको थियो । बुसाँदाका लागि आवश्यक खर्च र अवालहरुलाई पारिश्रमिक समेत गुठी संस्थानले व्यहोर्दै आएको छ ।