भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु

भक्तपुर, असार १६
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता बिहिवारदेखी शुरु भएको छ । लिबाली कभर्ड हलमा आयोजित कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले खेलकुद सामग्री हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरेको हो ।
सो अवसरमा नगरप्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएकोले नगरपालिकाले खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आइरहेको बताए । उनले खेलकुदको माध्यमबाट देशभरका नगरपालिकाहरूबीच सम्बन्ध विस्तार गर्न अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिए ।
नगरपालिकाले खेलाडीहरूलाई उत्साहित गर्न नगरस्तरीय र विद्यालयस्तरीय खेल प्रतियोगिताहरू गर्दै आइरहेको बताउँदैं उनले वडा—वडामा गठित खेलकुद समितिहरूलाई सक्रिय पार्ने जानकारी दिए ।


उपप्रमुख रजनी जोशीले खेलकुदका कारण समाजमा सुरक्षित भएर बाँच्ने आधार तय हुने बताउँदैं देशको सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु अग्रसर भएर लाग्नुपर्नेमा जोड दिए ।
भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष किरण थापाले विद्यालय जीवनबाट खेलकुदमा अग्रसर भई देशको निम्ति योगदान गर्नुपर्ने बताउँदैं यस किसिमको प्रतियोगिताले भक्तपुरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
असार १८ गते सम्पन्न हुने प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भलिबल र कराँते गरी चारवटा खेल सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।