उपत्यकाब्यापी बृहत चित्रकलामा ६१५ विद्यार्थी सहभागी

भक्तपुर, असार १८
युथ कर्नर क्लव काठमाडौंको आयोजनामा तेस्रो विद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरबाट करिव एक सय वटा बिद्यालयबाट ६ सय १५ जना बिद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सहभागी विद्यार्थीहरुलाई कक्षाका आधारमा ४ समूह विभाजन गराई प्रतिष्पर्धा गराईएको थियो । सहभागीहरुलाई कक्षा १ देखि ३ सम्म समूह ‘क’, कक्षा ४ देखि ६ सम्म समूह ‘ख’, कक्षा ७ देखि ९ सम्मको समूह ‘ग’ र कक्षा १० देखि १२ सम्म समूह ‘घ’ मा विभाजन गरी प्रतिष्पर्धा गराईएको आयोजक क्लवका अध्यक्ष तथा कार्यक्रम संयोजक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
समूह ‘क’ र ‘ख’ का प्रतिष्पर्धी बिद्यार्थीहरूलाई विना शीर्षक, समूह ‘ग’ का विद्यार्थीहरूलाई वातावरण र पर्यटन बिषयक र समूह ‘घ’ विद्यार्थीहरूलाई पर्यटन विकासमा सम्पदाको महत्व विकास शिर्षकमा चित्र बनाउन लगाएको थियो ।
प्रतियोगितामा समुह ‘क’ बाट अन्नपुर्ण माध्यमिक विद्यालयका सुशन शेर्पा प्रथम, सृजना ज्ञानसागर माविका बिनिसा न्यौपाने द्वितीय, निर्भना एकेडेमीका प्रनिता थापा तृतिय, श्रीकुमारी माबिका श्रृयानी महर्जन चौथो र रिपुमादिनि सैनिक महाविद्यालयका युजिन देवकोटा पाँचौ भएको थियो ।
त्यसैगरी समूह ‘ख’ बाट श्रीकुमारी माविका स्मृति श्रेष्ठ प्रथम, अन्नपुर्ण माविका रोसिका घिसिङ द्वितीय, कौशल ईङ्लिस स्कुलका जेम्स श्रेष्ठ तृतिय, पाठशाला नेपाल फाउन्डेसनका अनमोल राजभण्डारी चौथो र सैनिक आवासिय विद्यालयका पेनछेन विमला तामाङ पाँचौ भएको थियो ।
समूह ‘ग’ मा सरस्वती निकेतनका सुष्मा श्रेष्ठ प्रथम, कौशल ईङ्लिस बोडिङ स्कुलका सम्यम अधिकारी द्वितीय, रमाईलो पाठशालाका रोजी डंगोल तृतिय, श्रीकुमारी माविका न्हुजला बज्राचार्य चौथौ, श्री पद्म विद्याश्रमका प्रशान्त श्रेष्ठ पाँचौ भएको थियो ।
त्यस्तै समूह ‘घ’ बाट कुमादिनि कुञ्ज माविका स्मृति महर्जन प्रथम, विश्वनिकेतन माविका प्रशन्नजीत शाक्य द्वितिय, सैनिक आवासिय महाविद्यालयका रसिक बहादुर भण्डारी तृतिय, समृद्धि विद्यालयका रिदिसा श्रेष्ठ चौथौ, सृजना कलेज एण्ड फाईन आर्टका दिनेश घर्तिमगर पाँचौ भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौलाई हुनेहरूलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार, १ हजार र पाँच सय नगद पुरस्कार सहित मेडल र प्रशंसापत्र प्रदान गरिएको थियो ।
विजयी विद्यार्थी, सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूमा भएको कला प्रस्फुटन गर्ने चित्रकला पनि एउटा सशक्त माध्यमभएको बताउनुभयो । चित्रकला माध्यमबाटै देशको नाम विश्वमै फैलाउन सकिने भन्दै नगरप्रमुख प्रजापतिले यस प्रकारको कार्यले भक्तपुरको धार्मिक एवं ऐतिहासिक महत्व बोकेको कला, संस्कृतिको समेत प्रचारप्रसारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक श्रेष्ठले विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उपत्यकाको आफ्नो ऐतिहासिक शहरहरूको परिचय र उक्त स्थानमा रहेको प्राचीन कला, संस्कृति र सम्पदाहरूको ज्ञान दिने प्रमुख उद्देश्यले चित्रकला प्रतियोगिताको आयोजना गर्दै आईरहेको जानकारी दिनुभयो ।
क्लवका संरक्षक तथा अनुगमन समितिका संयोजक ई.रामबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमा नेपाल ललित कला प्रतिष्ठानका कुलपति केके कर्माचार्य, वरिष्ठ चित्रकार तथा निर्णायकहरू गोबिन्दलाल सिं डंगोल, चित्रकार श्रीभक्त प्रजापति, कोषाध्यक्ष हरेराम जोशी, भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरालगायतले कार्यक्रमको महत्वका बारे प्रकाश पार्नुभएको थियो ।