बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै ओमानविरुद्ध नेपालको सहज जित

भक्तपुर, असार १
बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले अमेरिकामा जारी आईसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजमा ओमान विरुद्ध सहज जित हात पारेको छ । अमेरिकाको टेक्सासमा बुधवार बिहान सम्पन्न खेलमा नेपालले शिर्ष स्थानको ओमानलाई ७ विकेटले सहजै पराजित गरेको हो ।
मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको मध्यम लक्ष्य नेपालले ३३ ओभर १ बलमा ३ विकेट गुमाएर भेटाएको थियो । नेपालको जितमा तिब्र गतिका बलर करण केसीको ५ विकेट र ओपनर व्याटर कुशल भुर्तेल र आसिफ शेखको ११४ रनको किर्तिमानी साझेदारीको योगदान रह्यो । पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालका ओपनरबाट पहिलो पटक शतकीय साझेदारी भएको हो । यसअघि ओपनरको रुपमा ओडिआईमा सर्वाधिक ठूलो साझेदारी ६६ रन थियो । आसिफ र कुशले गतवर्ष ओमानविरुद्ध नै गरेका थिए ।


ओपनर आसिफले ६२ रन बनाए भने कुशल ५६ रनमा आउट भए । आसिफले ८६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिँदा कुशलले ७५ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए । दुबै ओपनरको ओडिआई करिअरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् ।
यस्तै देव खनाल १० रनमा आउट भए । रोहित पौडेल २१ बलमा १ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । ऐरीले विलाल खानलाई विजयी चौका प्रहार गरेका थिए । ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए ।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले १ सय बलमा ३ चौकासहित सर्वाधिक ५२ रन बनाए । सन्दीप गौडले ९१ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए । एक समय १६.१ ओभरमा ४९–५ को कमजोर अवस्थामा पुगेको ओमानलाई छैटौं विकेटका लागि मकसुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
ओपनर कश्याप प्रजापति २, ओपनर जतिन्दर सिंह २३, अयान खान शुन्य, शोएब खान २, खवर अली १, नसिम खुसी १०, कलिमुल्लाह १ रनमा आउट भए ।


ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । मोहम्मद अदिल आलमले कुनै विकेट लिन नसकेपनि १० ओभरमा २ मेडनसहित २२ रन मात्र खर्चे ।
तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिलाई दुई रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । करणले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । करणको ओडिआई करिअरको यो दोस्रो पटक पाँच विकेट हो । यसअघि गत विहिबार ओमानविरुद्धनै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए ।


जितसँगै नेपाल अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । नेपालको १५ खेलमा ७ मा जित र ७ मा हारका साथ १५ अंक भएको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका २३ खेलमा १० मा जित र १२ मा हारका साथ २१ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।